नेपाली फाइटरले रसियनलाई हराए

नेपाली फाइटरले रसियनलाई हराए
सुन्नुहोस्

मार्सल आर्टस् विश्वभरका प्रसिद्ध खेलमध्ये एक हो । यसका अनेकन विधा छन् । सबै विधाको आ–आफ्नो विशेषता छ । अहिलेको युवापुस्तामा यो खेल एकदमै लोकप्रिय छ । तर, यो खेल खेल्दा निकै सावधानी अपनाउनुपर्छ । मार्सल आर्टस् खेल्ने क्रममा गम्भीर चोट लाग्न सक्छ भने ज्यान जाने जोखिमसमेत रहन्छ । 

मार्सल आर्टस्को सबैभन्दा खतरनाक विधा मिश्रित मार्सल आर्टस् (एमएमए) हो । यसमा स्ट्राइकिङ, ग्रेपलिङ र ग्राउण्ड फाइटिङ समावेश छ । विश्वभरका विभिन्न लडाइँको खेललाई समावेश गरेर एमएमए बनेको हो । नेपालमा यो खेल खासै खेलिँदैन । यसबारे अधिकांशलाई जानकारी नै छैन । सरकारी संयन्त्रबाट खेलको वृत्तिविकासका लागि लगानी गरिएको छैन । अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चा पाएको खेललाई नेपालमा स्थान बनाउन निकै लामो समय लाग्ने देखिन्छ । एमएमए खेल्ने जनशक्ति नभएकाले पनि मुलुकमा यो खेलले स्थान पाउन नसकेको हो । एमएमए खेल्दै आएकाले पनि घरपरिवार र सरकारबाट साथ–सहयोग नपाएको अवस्था छ । 

बझाङका २४ वर्षीय रवीन्द्र ढाँट एमएमएको नेपाली स्टार हुन् । एशियाकै शीर्ष कम्ब्याट प्रतियोगिता वन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका उनले नेपाललाई गौरवान्वित बनाएका छन् । गत महिना नेपालमा सम्पन्न नेपाल वारियार्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएर वन च्याम्पियनसिपमा पुगेका उनले रुसका फाइटरलाई पराजित गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराएका छन् । थाइल्याण्डको बैंककमा गत हप्ता सम्पन्न खेलमा उनले रुसका फाइटर तोरेप्ची डोंगोनलाई तेस्रो राउण्डमा (टेक्निकल नकआउट) गरी जित हासिल गरेका हुन् । नेपाली एमएमए क्लब (लक एण्ड रोल) का प्रशिक्षक दिविज पियाको सहयोगमा उनी त्यहाँसम्म पुगेका थिए । 

बझाङ स्थायी घर भएका रवीन्द्र निम्न आर्थिक स्तर भएको घरपरिवारमा जन्मिए । माध्यमिक शिक्षा उत्तीर्ण गर्नेबित्तिकै कामको खोजीमा भारत पुगेका उनले जागिर सँगसँगै कराँते सिक्न थाले । त्यसको केही समयपछि नयाँदिल्लीमा एमएमएको अभ्यास शुरु गरेका उनले भारतमा अमेच्योर खेल खेले । केही वर्षदेखि उनले (लक एण्ड रोल) का प्रशिक्षक दिविज पियाको दिशानिर्देशमा रहेर मार्सल आर्टस् सिक्दै आएका छन् । भारतमा पनि केही प्रतियोगिता जितेका उनले वन च्याम्पियनसिपको यात्रा तय गर्नु मुलुकका लागि गौरवको कुरा हो ।
 

टिप्पणीहरू