वामपन्थीलाई कति आउँछ है गाली !
कसैकसैले भन्ने गर्छन्– आची पुछेर फालेको काठको टुक्रा पनि जाडो लाग्दा बालेर ताप्न काम लाग्छ । हाम्रा बा भन्ने गर्नुहुन्थ्यो– सानो ढुंगा पनि ऐन–मौकामा असाध्यै काम लाग्छ । राति जब भुस्याहा कुकुरले भुक्दै घेर्छन् त्यो बेला ज्यान जोगाउने भनेको त्यही बाटोमा रहेको ढुंगाले हो । हुन त राजनीतिमा स्थायी मित्र नहुने भाष्य उहिल्यै निर्माण गरिएको थियो, जुन अध्यापि कायमै छ । तैपनि, राजनीतिक नैतिकतालाई ध्यानमा राख्दा यो भाष्य गलत हो र गलत नै रहनेछ । कतिपयले सहमतिअनुसारको संविधान बनेकाले अब मित्र वा पराइको राजनीति गरिनुहुन्न भन्ने दलिल पनि पेश गरेको देखिन्छ ।
निर्वाचन प्रणालीका हिसाबले चुनावमा कसैलाई पनि बहुमत प्राप्त नहुने अवस्थामा सहमतिमै राजनीतिलाई अघि बढाउनुपर्ने बाध्यता छ भनिन्छ । तर के यस्तो सहमतिले देशलाई संविधानको मर्मअनुसार अघि बढ्न दिन्छ त ! यसलाई सरल भाषामा यसरी प्रस्तुत गर्न सकिन्छ– काग कागसँगै र बकुल्ला बकुल्लासँगै यात्रा गर्दा बढी सहज हुन्छ । हामीकहाँ अहिले मुख्यतः तीन थरी राजनीतिक विचारधारा देखिन्छन् । पहिलो वामपन्थी, दोस्रो मध्यपन्थी पुँजीवादी र तेस्रो दक्षिणपन्थी राजावादी । यी तीनैथरी मिलेर या यिनीहरूको सहमतिमा संविधानको भावनामुताविक देश समाजवादको बाटोमा हिँड्छ भनेर मान्नु अपरिपक्वता हो, यस्तो हुँदैन ।
ओलीलाई संविधानविरोधी कांग्रेसले भनेको हो ? प्रचण्डलाई हत्यारा कांग्रेसले भनेको हो ? महाकाली सन्धिमा राष्ट्रघात गरे भनेर राप्रपाले भनेको हो ?
वामपन्थीमा एउटा डरलाग्दो रोग रहेछ– मबाहेकका अरु सबै गलत हुन् भन्ने सोच । पुष्पलाललाई गद्दार भन्ने यिनै वामपन्थी थिए । प्रचण्ड, माधव र केपीलाई देवता र दानव बनाउने पनि यिनीहरू नै हुन् । भाषामा अँगार खाएर अँगारै ओकल्छन् वामपन्थीहरू । कांग्रेसलाई हामी बुर्जुवा पार्टी मान्छौं । यस्तो पार्टीले पनि दानवीकरण गर्न नसकेको अथवा भनौं नगरेको वामपन्थी नेताहरूलाई यिनीहरू आफैले गर्न भ्याए । कांग्रेसले आफ्नो नेतृत्वलाई कहिल्यै पनि अपमानित गरेको सुनिएन । कृष्णप्रसाद भट्टराईले रुँदै संसदमा भाषण गर्दै पदबाट राजीनामा दिए तर गिरिजालाई गाली गरेनन् । देउवाले पार्टी फुटाएर प्रजातन्त्रलाई दरबारमा भेटी चढाए तर गिरिजाले गालीगलौजको बाटो लिएनन् । तर, वामपन्थीको कुरै नगरौँ । कसले कसलाई के के भनेर गाली गरे, अपमान गरे, बदनाम गरे भनेर लेख्ने हो भने सानोतिनो किताब नै बन्छ । ओलीलाई संविधानविरोधी कांग्रेसले भनेको हो ? प्रचण्डलाई हत्यारा कांग्रेसले भनेको हो ? महाकाली सन्धिमा राष्ट्रघात गरे भनेर राप्रपाले भनेको हो ? जवाफ हुन्छ– होइन । यो सबै काम वामपन्थीले नै गरेका हुन् ।
माथि भनिएजस्तो सुनसान रातमा भुस्याहा कुकुरले लखेट्दा बाटोको ढुंगा काम लागेजस्तो वामपन्थीलाई समाजवादको बाटोमा अघि बढ्न यिनै वामपन्थी नै काम लाग्छन् । भोलि दक्षिणपन्थीले जिते भने उनीहरूले झापामा ओलीलाई समर्थन गरेर संसदमा पठाउने छैनन् बरु हतकडी लगाएर जेल पठाउनेछन् । परिस्थिति अनुकूल भयो र चुनावमा बहुमत ल्याउन सक्यो भने कांग्रेसले पनि प्रचण्डलाई गोरखाबाट जिताउने छैन बरु हत्या, हिंसा र घोटालाको आरोपमा जेल नै हाल्नेछ । त्यसकारण राता मान्छेहरू एक हुने भनेको राताहरूसँगै हो । रातारात मिलेर अरुसँग प्रतिस्पर्धा गर्ने हो । यति कुरा हामीले बुझ्छौं तर ओली, माधव र प्रचण्डले किन बुझ्दैनन् कुन्नि ?
राजनीतिमा सबै सम्बन्ध अस्थायी हुन्छन् भन्नु सत्तामुखी कुरा हो । सत्तामा जाने र सत्ताभोग गर्ने जुक्ति हो । यस्तो भ्रमबाट कम्तीमा पनि हामी मुक्त हुन जरुरी छ । माक्र्सवाद र पुँजीवादबीचको सम्बन्ध स्थायी हो भने दलविशेषको सम्बन्ध कसरी अस्थायी हुन सक्छ ? राजनीतिमा वैमनष्यता÷दुश्मनी पो नहुने भनेको हो । सत्तामा जानलाई जोसुकैसंग घाँटी जोड्ने भनेको होइन । कांग्रेस वा रास्वपासँग सौहार्द्रतापूर्वक संवाद र व्यवहार हुन सक्छ भने वामपन्थी वामपन्थीबीच पनि हुनुपर्छ । प्रचण्डले ओलीलाई वा ओलीले माधवलाई अथवा आहुतिले प्रचण्डलाई दानव बनाउने होइन । कम्तीमा पनि सार्वजनिक मञ्चबाट एकअर्कालाई दानवीकरण गर्न छाड्नुपर्छ । यो गणतान्त्रिक व्यवस्था ल्याउनमा राप्रपाको कुनै योगदान छैन । अझ अघि बढेर भन्दा यिनैका विरुद्ध लडेर गणतन्त्र आएको हो ।
सिद्धान्ततः जर्मनीमा फाँसीवादीलाई प्रतिबन्ध लगाएजस्तै यो दललाई पनि राजनीतिक प्रतिबन्ध लगाउनुपर्ने थियो । तर, त्यस्तो गरिएन । आज यिनीहरूले यसैको फाइदा उठाउँदै अर्थात् संविधानले दिएको स्वतन्त्रताको फाइदा उठाउँदै संसदभित्रै गणतन्त्रको विरोध गरिरहेका छन् र गणतन्त्र ल्याउन नेतृत्व गरेका मानिसलाई हत्यारा भनिरहेका छन् । यस्तो किन सम्भव भयो भने वामपन्थीले नै यस्तो वातावरण बनाउने काम गरे । नेकपा(नेकपा) नफुटेको भए गणतन्त्रलाई गाली गर्नेहरू आज संसदमा पुग्ने नै थिएनन् । यो सबै कसले बिगारेको हो, यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्दा फुटपरस्तवादी वामपन्थी नै जिम्मेवार छन् ।
अन्त्यमा, अहिले ठूलो वामपन्थी दल बावादले ग्रस्त छ । अब यो बावाद राष्ट्रिय झण्डा, वीरताका गाथा र रुद्राक्षका मालालाई वामपन्थमा छिराएर आगामी चुनाव जित्ने दाउ खेल्न खोज्दै छ । यहींनिर प्रश्न छ– के यस दलका आम सदस्यहरूको भूमिका र क्षमता यसैमा ताली पिट्ने र यसैलाई बोकेर हिँड्ने तहसम्म मात्रै हो कि त्योभन्दा परसम्म पनि छ ? यस दलका आम सदस्यले आफ्नो राजनीतिक तथा वैचारिक भूमिकाको दायरालाई बढाउन नसक्ने हो भने यो ठूलो दललाई बिसर्जन हुनबाट रोक्न सकिने छैन । किनभने अबको चुनावका मतदाता भनेका इन्टरनेटमा विकास र समृद्धि पत्ता लाउने वर्ग हुन् जसलाई ओलीले एउटै कपडाले हप्तौं बिताएको कथासँग कुनै रुचि नै छैन ।
टिप्पणीहरू