क्रिकेटमा पदक सम्भावना समाप्त

क्रिकेटमा पदक सम्भावना समाप्त

भारतसँग २३ रनले पराजित भएसँगै १९ औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालको पदक सम्भावना सकिएको छ । 

आज बिहान चीनमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रनमा सीमित भयो । क्वाटरफाइनलबाटै बाहिरिएपछि क्रिकेटमा पदक जित्ने सम्भावना पनि समाप्त भएको हो । 

समूह चरणका दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले बलियो टोली भारतविरुद्ध भने त्यहि लय कायम गर्न सकेन । जसका कारण अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै, सन्दीप जोरा र कुशल मल्लले समान २९ रनको योगदान गर्दा ओपनर कुशल भुर्तेल २८ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले १० रन बनाउँदा कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके । पछिल्लो क्रमका ब्याटर सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर पेभेलियन फर्किए ।

भारतका रवि विस्नोई र आभेस खानले ३/३ र अर्सदिप सिंहले २ विकेट लिए ।  भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे । दुवेले १९  बलमा २ चौका र १ छक्का हाने । ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए । 

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे ।

टिप्पणीहरू