प्रधानमन्त्री बझाङ्ग जान दुईटा सवारी,किन भयो दोब्बर खर्च
मुलुकको राज्यकोषको दुरुपयोग राज्य सञ्चालकबाट नै हुँदै आइरहेको छ । उनीहरुको सुविधाका नाममा राज्यकोषमाथि ठूलो आर्थिक भार थपिएको अवस्था छ । सबैभन्दा धेरै खर्च उच्चस्तरीय भ्रमणको नाममा हुने गरेको छ ।
कहीँ–कतै जानुपरे पूरै ताँती लिएर जाने प्रवृत्ति सरकारका प्रतिनिधिहरुमा देखिएको छ । उपलब्धि शून्यप्रायः छ भने आर्थिक भार बढाउने कार्यले मात्रै प्राथमिकता पाइरहेको छ ।
राज्य सञ्चालकहरुले आफ्नो मनोमानी चलाउँदा फोगटको खर्च मात्रै बढिरहेको छ । आज बिहान बझाङ गएको टोलीको पनि उही खर्च बढाउने ताल देखिन्थ्यो ।
भूकम्पबाट प्रभावित बझाङ अवलोकन गर्न बिहान ११ बजे जम्बो टोली गन्तव्यतर्फ गयो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतको टोली सेनाको स्काई ट्रक एनए ०६४ मा काठमाडौंबाट सुर्खेत गएको हो । टोली त्यसपछि सेनाको हेलिकप्टर एमआई १७ मार्फत बझाङतर्फ लाग्यो ।
"स्काई ट्रक नजाने भएपछि सीधै काठमाडौंबाट हेलिकप्टरमा बझाङ गएको भए पनि हुन्थ्यो तर त्यसो गरिएन ।"
स्काई ट्रक बझाङ जान नसक्ने भएकाले त्यहाँबाट हेलिकप्टर प्रयोग गरिएको हो । स्काई ट्रक नजाने भएपछि सीधै काठमाडौंबाट हेलिकप्टरमा बझाङ गएको भए पनि हुन्थ्यो तर त्यसो गरिएन ।
बिनासित्ती दोब्बर खर्च गराउने काम मात्रै भयो । स्काई ट्रक काठमाडौंबाट सुर्खेत ओहोरदोहोर गर्दा फोगट्टेको इन्धन खेर गएको छ । यता,भारतीय पाहुना लिएर जोमसोम पुगेको हेलिकप्टरलाई फिर्ता बोलाएर सुर्खेतबाट टोलीलाई बझाङ लगिएको हो ।
स्रोतका अनुसार सेनाको उक्त हेलिकप्टर भारतीय पाहुना घुमाउनका लागि पोखराबाट जोमसोम गएको थियो । आज बिहान प्रधानमन्त्रीको सवारीका लागि हेलिकप्टर जोमसोमबाट पोखरा फर्कियो ।
त्यसपछि सुर्खेत आएको हेलिकप्टरमा इन्धन भरेर प्रधानमन्त्रीसहितको टोली गन्तव्यतर्फ लागेको हो । एउटै स्थानमा जानका लागि दुईटा सवारीको प्रयोग गर्दा दोहोरो खर्च भएको भन्दै यतिबेला व्यापक असन्तुष्टि जनाइएको छ । भूकम्प अवलोकन गर्नका लागि जम्बो टोली गएकोमा समेत प्रश्न उठाइएको छ ।
‘उक्त हेलिकप्टरलाई सीधै काठमाडौं बोलाएको भए यत्रो खर्च नै हुँदैनथ्यो । यहाँबाट स्काई ट्रक सुर्खेतसम्म जाने, त्यसपछि यात्रुलाई पोखरा उतारेर हेलिकप्टर सुर्खेत आउने । दोहोरो खर्च लाग्यो । स्काई ट्रक फर्किँदाको खर्च छुट्टै छ । एउटै साधनले हुने कामका लागि दोब्बर तेब्बर खर्च गरिएको छ । अवलोकन गर्नका लागि पनि त्यत्रो टोली नै जानुपर्छ र ? आ–आफ्नो मनोमानी चलाएका छन्’, स्रोतले भन्यो ।
टिप्पणीहरू