महेश बस्नेतद्वारा मार्सीलाई युवा संघको तागत ननाप्न चेतावनी, दुर्गा प्रसाईंले घरमै पत्रकार सम्मेलन गर्ने

महेश बस्नेतद्वारा मार्सीलाई युवा संघको तागत ननाप्न चेतावनी, दुर्गा प्रसाईंले घरमै पत्रकार सम्मेलन गर्ने

एमाले नेता तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले मेडिकल माफियाको रुपमा चर्चित दुर्गा प्रसाईंलाई आफ्नो संघको तागत ननाप्न चेतावनी दिएका छन् । उनले आज राजधानीमा कालोमोसो दलेको समाचारपछि प्रसाईंलाई सुध्रिन र अरुलाई दोष नलगाउन सुझाव दिएका छन् । 

बस्नेतले लेखेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लगाएछन् । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईं ।’

उनलाई एउटा समूहले कान्तिपथस्थित होटल यल्लो पगोडामा कालोमोसो दलेको थियो । त्यहाँ आयोजित पत्रकार सम्मेलनको क्रममा उनलाई कालोमोसो दलिएको हो ।

राजनीतिक रुपमा उग्र विचार राख्दै आएका प्रसाईंले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् । उनी गत वर्षको आमनिर्वाचन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीका अन्धभक्त थिए । चुनावमा टिकट नपाएपछि बाउँठिएर राजावादी आन्दोलनमा सहभागी भएका हुन् । 

विगतमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित निवासमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी मार्सी नामले पनि प्रख्यात भए । सोही घरमा प्रसाईंले भोलि बिहान साढे ८ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रसाईंलाई दलिएको कालोमोसो जुत्तामा लगाइएको कालो पालिस भएको बुझिएको छ । कालो पालिसमा मट्टितेल मिसाएर बनाइएको मोसो गाला, घाँटी र कपडामा दलिएको थियो ।

मोसो दलेपछि युवाहरुको समूहले दुर्गा प्रसाईं मुर्दावाद, महेश बस्नेत जिन्दावाद, युवा संघ जिन्दावादको नारा लगाएको प्रसाईं निकटस्थहरुले बताएका छन् ।

टिप्पणीहरू