आलु किन्दा सुन

आलु किन्दा सुन

अब आलुको बोरामा पनि सुन आउन थालेछ । अस्तिसम्म मोटरसाइकलको ब्रेक शुमा हालेर ल्याउने गरिएको थियो । त्योभन्दा अघि जुत्ताको तलुवामा राखेर ल्याउने गरिन्थ्यो । अझ कहिलेकाहीं त सुटकेशमा फल्स बटम हालेर पनि ल्याइन्थ्यो । अहिलेचाहिँ आलुको बोरामा हालेर ल्याउन थालियो । यसरी सुनको पनि धेरै अवमूल्यन भइसकेछ । भलै बजारमा सुनको भाउ बढेको बढ्यै भए पनि यसको इज्जत भने घटेको घट्यै छ । अझ कुनै जमानामा त मलद्वारमा समेत सुन राखेर ल्याइन्थ्यो भन्ने सुनेको थिएँ । 

अब आलुको बोरामा सुन भेटिन थालेपछि बजारमा आलु महँगो हुन बेर छैन । किनभने हिजोसम्म किलो किलो आलु किन्ने ग्राहकले अबदेखि बोरा बोरा नै किन्ने सम्भावना बढेको छ । कतै आफूले किनेर लगेको बोरामै सुन भेटिने पो हो कि ? आलु किन्दा सुन भेटिन्छ भने किन बोरा बोरा नै नकिन्ने ? एउटा बोरामा एक किलो मात्रै भेटिए पनि जिन्दगी त मजैसँग चल्यो नि ! कि कसो ?

बिचरा सुनलाई पनि गाह्रो छ । बोर्डर क्रस गर्न आलुको बोरामा लुकेर जो आउनु परिरहेको छ ।

टिप्पणीहरू