चौतारीको तालाबन्दी समाजवादी प्रेसलाई अस्वीकार्य

चौतारीको तालाबन्दी समाजवादी प्रेसलाई अस्वीकार्य
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीसम्बद्ध समाजवादी प्रेस संगठनले सदस्यता शुद्धीकरणका नाममा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गर्ने तथा दैनिक कार्य अवरुद्ध पार्ने गतिविधि स्वीकार्य नहुने बताएको छ । 

संगठनका महासचिव रामकुमार एलनले आज विज्ञप्ति जारी गर्दै सदस्यता शुद्धीकरण त्रुटिपूर्ण भएपनि तालाबन्दीजस्ता गतिविधि अस्वीकार्य रहेको बताएका हुन् । 

‘नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व (केन्द्र, सबै प्रदेश र जिल्ला) तत्कालिन प्रगतिगमनविरोधी पत्रकारहरुको मत र समर्थनमा निर्माण भएको हो, जसमा हाम्रो संगठनको सक्रिय सहकार्य थियो । यद्यपि, सदस्यता शुद्धिकरणका सन्दर्भमा गम्भीर त्रुटि भएको छ । तर, यही नाममा पत्रकार महासंघका कार्यालयमा तालाबन्दी गर्ने, महासंघका दैनिक कार्य अवरुद्ध गर्नेजस्ता गतिविधि स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले 'पत्रकारको आवाज सुन्छ' भन्नेमा विश्वस्त रहेको उल्लेख गर्दै विज्ञप्तिमा त्रुटिपूर्ण नामावली तत्कालै सच्चाई सबै पक्षबीचको छलफल र सहमतिपछि नामावली सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।

एमालेको पत्रकार संगठन प्रेस चौतारीले सदस्यता नवीकरणप्रति आपत्ति जनाउँदै महासंघको वाग्मती प्रदेश कार्यालयमा ताला लगाएपछि समाजवादी प्रेस संगठनको यस्तो प्रतिक्रिया आएको हो ।

टिप्पणीहरू