कर्णको अघि ओली र शंकरको केही लागेन
एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले पदाधिकारी बैठकमा कारबाही प्रस्ताव गरेका स्थायी समिति सदस्य कर्णबहादुर थापासँग झुक्नुपरेको छ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर अन्तर्वार्ता दिएपछि ओलीले थापामाथि कारबाहीको प्रस्ताव गरेका थिए । महासचिव शंकर पोखरेल पनि थापासँग क्रुद्ध हुँदै आएका थिए ।
तर, गत साता भएको एमालेको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनमा भने ओली र पोखरेलले थापाकै लाइनमा हिँड्नुपर्ने बाध्यता आयो । सोही कारण थापाले बोकेका अध्यक्षका उम्मेदवार कृष्णप्रसाद जैसीलाई अन्तिम समयमा समर्थन गर्नुपरेको थियो ।महासचिव पोखरेलले तत्कालीन उपाध्यक्ष कमल तिमिल्सेनालाई अध्यक्षमा अघि बढ्न भनिसकेका थिए भने कर्णले बोकेका कारण ओलीको झुकाव पनि जैसीमै थियो ।
अरु प्रदेशमा हार भोग्नुपरेको र सुदूरपश्चिममा पनि नेता डा. भीमबहादुर रावल र थापा मिल्दा फरक परिणाम आउन सक्छ भनेर केन्द्रको नेतृत्वले कमललाई केन्द्रीय सदस्य बनाउने भन्दै पछाडि हट्न लगाएको हो । ओली र पोखरेलले तत्काल रावल र थापालाई एक ठाउँमा आउन नदिनका लागि सो नीति लिएको बताइन्छ । ओली र पोखरेलले अध्यक्षमा जैसीलाई सर्वसम्मत गराएर सुदूरपश्चिमका ओली पक्षधरको एकता पनि कायम राखेका छन् । ओली र पोखरेलले लेखराजमार्फत नै उनको सिग्नलमा अध्यक्ष उम्मेदवार बनेका बचन सिंहलाई पनि उम्मेदवारी फिर्ता लिन लगाएका थिए ।
कमललाई बोक्न खोजिरहेका तत्कालीन प्रदेश अध्यक्ष दामोदर भण्डारीले पनि चुनावमा जाँदा अध्यक्षमा त कमल जित्छन् तर आफ्ना एक मात्र सहयोगी सचिवका उम्मेदवार रणबहादुर चन्दलाई लेखराज पक्षले असहयोग गरेर हराउन सक्छन् भनेर जैसीलाई स्विकार्दै चन्दलाई सचिव बनाउन लागेकोले पनि सुदूरपश्चिममा पदाधिकारी सर्वसम्मत भएका हुन । रणबहादुर निकट र लेखराजका बीच कैलालीमा द्वन्द्व रहेकाले सो अनुमान दामोदरहरूले गरेका हुन् । दामोदरले सचिवका उम्मेदवार चन्द हार्ने अनुमान गर्नु, केन्द्रको दबाब, कर्ण थापाको अगाडि अड्न नसक्ने र मुसाजस्तै हुने कारण गणेश ठगुन्ना, लालबहादुर थापालगायतले पनि तिमिल्सेनालाई पछाडि हट्न लगाएको बताइन्छ ।
सबै फिर्ता हुँदा डा. रावल निकट भरत साउदले अध्यक्षबाट मानेका थिएनन् । उनले नरबहादुर विक र भागिरथी विष्टलाई उपसचिव बनाए मात्रै फिर्ता लिने अडान लिएका थिए । सोही अडानअनुसार विक र विष्ट उपसचिव भएका छन् । यद्यपि, विष्ट पूर्वमाओवादी पनि भएकोले लेखराज निकट रहेको आरोपसमेत लाग्ने गर्छ । निर्वाचन कमिटीमा सबै पदमा उम्मेदवारी परेको र उम्मेदवारी फिर्ता नहुँदासम्म सर्वसम्मत पदाधिकारी छानियो भनेर घोषणा गर्न नमिल्ने भएपछि डा. रावल निकटलाई उपसचिव बनाउने बाध्यता सिर्जना भएको दाबी पनि अहिले गर्न थालिएको छ र प्रदेश अधिवेशनमा अध्यक्ष कर्णबहादुर थापाको, उपाध्यक्ष कालिबहादुर शाही लालबहादुर थापाको, सचिव रणबहादुर चन्द दामोदरनिकट छानिएको भनेर चर्चा गर्न थालिएको छ । सदस्य पदमा भएको चुनावमा भने पुराना नेता पदमसिंह सिंगाल, खड्कबहादुर साउद र प्रेम साउद पराजित भएका छन् ।
कर्णबहादुर थापाले एमाले निकट आफ्ना आलोचकलाई भन्ने गरेका छन् ओली र पोखरेललाई थर्काउन पनि सक्छु मनाउन पनि सक्छु यिनीहरुको दूरी बढ्यो भनेर खुशी हुन जरुरी छैन । हुन पनि प्रदेश अधिवेशनबाट त्यही सावित भयो । अहिले डा. रावललाई झै पाखा लगाउन खोजिएको थापाले राजनीति जितेको चर्चा हुन थालेको छ । यद्यपि पदाधिकारी हुने आशामा रहेका थापानिकट राजेश खाती, जीवन वम र पल्लभ भट्ट भने निराश छन् ।
टिप्पणीहरू