मोदी गएपछि कालापानीतिर हेलिकोप्टर उडेको उड्यै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असोज २५ गते अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र भ्रमण गरेलगत्तै भारतीय सेनाले हवाई गतिविधि बढाएको छ । मोदी भ्रमणको तयारीमा दुर्ई हप्ताअघिदेखि दैनिक सीमाक्षेत्रको आकाशमा हेलिकोप्टर उडिरहेको देखिन्थ्यो । भ्रमणपछि हेलिकोप्टर उडान थपिएको छ ।
मोदीले भ्रमण गरेको दिन तीन वटा एमआर्ई–१७ हेलिकोप्टर र दुई वटा लडाकू हेलिकोप्टरले उडान गरेका थिए । पिथौरागढ जिल्ला सदरमुकामदेखि ५० किलोमिटर हवाई दूरीमा रहेको जोलिङकाङमा मोदी चढेको हेलिकोप्टर उत्रिएको थियो । भारतीय सेनाले जोलिङकाङमा ३ सय मिटर लामो र ७५ मिटर चौडाइको हेलिपोर्ट निर्माण गरेको छ । जोलिङकाङ क्षेत्रमा एकै साथ आधा दर्जन हेलिकोप्टर अवतरण गर्न सक्नेगरी पूर्वाधार निर्माण गरिएको छ ।
गुञ्जीको मनिला, कालापानी र लिपुलेक पास नजिकको नाभीढाङमा पनि ठूलो हेलिकोप्टर अवतरण गर्न सकिने हेलिप्याड बनाइएको छ । मोदी भ्रमणदेखि हरेक दिन भारतीय सेनाका हेलिकोप्टर कालापानी क्षेत्रमा उडिरहेको सीमा क्षेत्रका स्थानीय वासिन्दा बताउँछन् । असोज २९ गते सोमबार मात्रै भारतीय सेनाका दुइटा चिता र एउटा एमआई–१७ हेलिकोप्टर कालापानी क्षेत्रमा उडेका छन् । दुइटा चिता हेलिकोप्टर सोमबार दिउँसो कालापानी क्षेत्रबाट फर्किए पनि एमआई–१७ हेलिकोप्टर भने सोमबार राति जोलिङकाङ क्षेत्रमै राखिएको छ ।
सोमबार अपराह्नदेखि मौसम बदली भई उच्च भेगमा हिमपात भएकाले उक्त हेलिकोप्टर जोलिङकाङमा अड्किएको अनुमान गरिएको छ । एमआई–१७ हेलिकोप्टरले सोमबार बिहानै पनि कालापानी क्षेत्रमा पहिलो चक्कर लगाएको थियो । पिथौरागढदेखि सोमबार दिउँसो दोस्रो चक्कर लगाएको हेलिकोप्टर जोलिङकाङमा रातभर रोकिएको हो ।
हिमालय क्षेत्रमा ३८ सय मिटरसम्मको उचाइमा हिमपात भएको छ । मंगलबार पनि मौसम बदली भएकाले जोलिङकाङमा रोकिएको भारतीय सेनाको हेलिकोप्टर फर्किने निश्चित छैन । पिथौरागढ जिल्ला सदरमुकाममा रहेको नैनीसैनी हवाई मैदान भारतीय वायुसेनालाई सञ्चालन गर्न दिने गृहकार्य पनि थालिएको छ । पिथौरागढको हवाइमैदानलाई बेस बनाएर कालापानी क्षेत्रका साथै मुनस्यारी, मिलम क्षेत्रमा पनि हवाई गतिविधि बढाउने भारतीय सेनाको तयारी देखिन्छ ।
कालापानी क्षेत्रमा एसएसबी र भारत–तिब्बत सीमा पुलिस (आइटिविपी) का साथै भारतीय सेनाको कुमाउँ रेजिमेन्ट, गोरखा रेजिमेन्ट र आसाम राइफल्स तैनाथ गरिएको छ । लिम्पियाधुरा नजिकको अन्तिम सीमा क्षेत्रमा गोरखा रेजिमेन्टको फौज तैनाथ छ ।
टिप्पणीहरू