मुसिकोटमा अटो दुर्घटना, पाँच यात्रु घाइते

मुसिकोटमा अटो दुर्घटना, पाँच यात्रु घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४, बोहरागाउँमा अटो दुर्घटना भएको छ ।

मुसिकोट नगरपालिका–१, खलंगाबाट वडा नम्बर–४ सोलाबांगतर्फ जाँदै गरेको रा.१ ह ७३०९ नम्बरको अटो आज दिउँसो साढे ४ बजेको समयमा दुर्घटना भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । अटोमा रहेका आठमध्ये तीन जना सकुशल छन् । 

घाईते भएकामा मुसिकोट नगरपालिका–११, भलाक्चाकी ३० वर्षीया मञ्जु ओली, सोही वडाका २५ वर्षीय कृष्ण बिक, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासीका छोरा डिसिजन खड्का र मुसिकोट नगरपालिका ११ की २४ वर्षीया टिका ददेल र उनको १५ महिनाको छोरा नुवाक शेर्पाली हुन् । 

सबै घाइतेलाई उपचारको निम्ति खलंगा बजारमा रहेको साझा मुराल अस्पताल लगिएको छ । प्रहरीका अनुसार घाइते नाबालक नुवाक शेर्पालीको अवस्था गम्भीर छ । उनको निधारमा गहिरो चोट लागेको छ । 

अटोमा सवार घाइते मञ्जु ओलीका ४ वर्षीय छोरा लक्की ओली, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासी र उनका १७ महिनाकी छोरी बेनिका खड्का भने सकुशल रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

अटो अनियन्त्रित भई सडकमा पल्टिँदा उनीहरु घाइते भएका हुन् । अटो चालक मुसिकोट नगरपालिका ४, निवासी ३३ वर्षीय मनिराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू