कोरोला नाका सोमबारदेखि खुल्ने, पोखराबाट चीनतिर सोझै उड्ने

कोरोला नाका सोमबारदेखि खुल्ने, पोखराबाट चीनतिर सोझै उड्ने

चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ (तिब्बत) स्वायत्त प्रदेश सचिव वाङ छुङछेङले मुस्ताङको कोरोला नाका आगामी सोमबारदेखि खुल्ने जानकारी दिनुभएको छ । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका शहरका निम्ति सोझो उडान हुनेमा पनि आफू विश्वस्त रहेको बताउनुभएको छ । 

उहाँले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आज पोखरामा गर्नुभएको भेटमा उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘मनाङ,मुस्ताङ र गोर्खासँग जोडिएका नाकाहरू नियमित रुपमा सञ्चालन गर्न चीन तयार छ ।’

भेटको क्रममा तिब्बतले गण्डकी प्रदेशलाई विशेष सहयोग गर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बत भ्रमणको निम्तोसमेत दिनुभएको बताइन्छ । 

उक्त भेटपछि मुख्यमन्त्री पाण्डेले चिनियाँ पाहुना टोलीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको छ । टोली आजै दिउँसो काठमाडौंबाट हिमालयन एअरलाइन्सको विमानमा पोखरा गएको हो । भोलि दिउँसो राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू