अमरेशकुमारको सिङ्गै गाउँ बिजुली चोरीमा अभ्यस्त
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमा बिजुली चोरी हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय,जनकपुरले हालै गरेको छड्के जाँचका क्रममा अधिकांशले बिजुली चोर्ने गरेको पाइएको हो ।
प्राधिकरणले आइतबार,सोमबार, मंगलबार र बुधबार बलरा नगरपालिकाका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरेलु तथा अन्य ग्राहकले बिजुली चोरेको तथ्य खुलेको हो ।
प्रादेशिक कार्यालय जनकपुरले नमूनाका रुपमा एक सय ग्राहकको सिङ्गल तथा थ्री फेज मीटरको छड्के जाँच गरेको बताइन्छ । सो क्रममा ४० भन्दा बढी ग्राहकले विद्युत् चोरेको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने,मीटर नराख्ने, राखेका मीटर पनि उल्टो पार्ने, मीटरमा प्वाल पारेर घुम्न नदिने, मीटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायत कार्य संगठित रुपमा गरेको पाइएको हो । त्यस्ता ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशन दिइएको उनले जानकारी दिए । उक्त केन्द्रबाट ५२ प्रतिशत विद्युत् चुहावट भइरहेको छ ।
सो क्षेत्रका व्यावसायिक ग्राहकले पनि विद्युत चोरेको पाइएको छ । थ्री फेजका दुई वटा राइस मिल र एउटा सिँचाइ ग्राहकलाई जरिवाना र कारबाही गरिएको छ । ती मिलले मीटर बाइपास गरी विद्युत् प्रयोग गरेको पाइएको हो । ब्रम्हबाबा जल उपभोक्ता समिति,धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामीटर एक वर्षदेखि विद्युत् चोरेको पाइएपछि उक्त समितिलाई ६१ हजार पाँच सय रुपैयाँ जरिवाना तिराइएको छ ।
विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिरेका २६ हजार ग्राहकको लाइन काटेको छ । कात्तिक १२ गतेदेखि विद्युत् महशुल बक्यौता असुलीलाई देशभर अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले अस्तिसम्म २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । त्यस्ता ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ देखिन्छ ।
पछिल्लो समय सबैभन्दा बढी मधेश प्रदेशमा बिद्युत लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहत वितरण केन्द्रले चार हजार ८५२ ग्राहकको लाइन काटिसकेको छ । ती ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ हुन आउँछ ।
कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रले महशुल नतिरेका चार हजार ३३१ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम नौ करोड ८१ लाख रुपैयाँ देखिन्छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रले चार हजार १८ ग्राहकको लाइन काटेका छन् । त्यसवापत बक्यौता रकम तीन करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले तीन हजार ३५२ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम सात करोड ८५ लाख रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रहरुले दुई हजार ७९३ ग्राहकको लाइन काटेका छन् भने बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ पुगेको छ । हेटौंडा मातहतका वितरण केन्द्रहरुले दुई हजार १७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम चार करोड ८२ लाख रुपैयाँ छ ।
गण्डकी प्रादेशिक कार्यालय, पोखराले महशुल नतिर्ने दुई हजार ७५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम चार करोड छ लाख रुपैयाँ छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरुले एक हजार ३४२ ग्राहकको लाइन काटेका छन् । त्यस्ता ग्राहकबाट उठ्न बाँकी रकम दुई करोड २७ लाख रुपैयाँ छ ।
कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रले ६२४ ग्राहकको लाइन काटेका छन् । उनीहरुबाट उठ्न बाँकी रकम ९१ लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मीटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मीटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मीटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।
२५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
सोही प्रावधानबमोजिम मीटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता असुलउपर गर्ने नीति लिइएको छ ।
टिप्पणीहरू