प्रतिगामी दुस्साहसलाई मिलेर परास्त गर्छौँ - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अधिकार उल्टाउने षड्यन्त्र एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ ।
आज दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो बलिदानीबाट प्राप्त राजनीतिक परिवर्तन उल्टाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो । केही प्रतिगामी तत्वहरुले यस्तो दुस्साहस गरिरहेको जनाउँदै प्रधानमन्त्रीले १२ बुँदे पक्षधरहरुले दृढताका साथ परास्त गर्ने दावी गर्नुभयो ।
'नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन् । केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन । उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।'
त्यसक्रममा प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण काम गरेर जनताको मन जित्न थालेपछि प्रतिगामी तत्वहरु अत्तालिएको उल्लेख गर्नुभयो ।
'भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न । सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन् । त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाउँ', उहाँले भन्नुभयो ।
टिप्पणीहरू