हाम्रो पार्टीलाई चीनले निकै महत्व दिएको छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहारअघि आफूले गरेको चीन भ्रमण २० औं पटक रहेको जानकारी गराउनुभएको छ । पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी मुख्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त विवरण दिनुभएको हो ।
हालैको चीन भ्रमणमा चीन सरकारले गरेको आफ्नो स्वागत र सत्कारको उहाँले प्रशंसा गर्नुभएको छ । ‘म यसअघि प्रधानमन्त्री हुँदा र पार्टी नेताकै हैसियतले चीन जाने गरेको थिएँ, तर यति महत्वका साथ स्वागत गरिएको थिएन ।’
अध्यक्ष नेपालले उक्त स्वागतलाई आफ्नो पार्टीप्रति चीन सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले दिएको महत्वका रुपमा बुझ्नुपर्ने बताउनुभयो । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति दिइएको ५० लाख चिनियाँ युआन बराबरको सहयोगमा आफ्नो पार्टीको भूमिका रहेको उल्लेख गर्दै उक्त रकम हस्तान्तरणका क्रममा प्रमुख चार दलका नेतालाई बोलाइएको जानकारी दिनुभयो ।
उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को प्रशंसा गर्नुभएको छ । उक्त कार्यक्रममा सहभागिताका निम्ति छिमेकी मुलुकको नाताले नेपालले कुनै हिच्किचाहट गर्न नपर्ने जनाउनुभयो । ‘कतिपयले नेपाल बिआरआईमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु हामीलाई जसले सहयोग गर्न चाहन्छ, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ ।’
चीनले आफ्नो पार्टीसँग बलियो सम्बन्ध बनाउन चाहेको कुरालाई लिएर केही व्यक्तिहरु आत्तिएको जनाउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘आत्तिनुपर्ने कुनै कारण छैन ।’
टिप्पणीहरू