बाबुराम र विप्लवसँग एकताको सहमति भएको छ : प्रधानमन्त्री

बाबुराम र विप्लवसँग एकताको सहमति भएको छ : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनवादी नभएर समाजवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ । 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६, मैकोटमा आयोजित पार्टीको जिल्लास्तरीय विशेष प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्ध मार्फत जनवादी क्रान्ति मूलभूत रुपमा पूरा गरेकाले अब समाजवादी क्रान्तिको दिशामा अभियान अघि बढेको उल्लेख गर्नुभएको छ ।

 
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ सञ्चालित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको मैकोट पुग्नुभएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा राज्यबाट विकटका जनतालाई चर्को दमन भएपछि जनयुद्धमा जानुपरेको स्मरण गर्नुभयो । आवश्यकता र बाध्यताबीचच जनयुद्धको घोषणा गरिनु नै  ऐतिहासिक आवश्यकता रहेको उहाँको भनाई छ । 

जनयुद्धमा भएको त्याग, तपस्या र बलिदानी किर्तिमानी रहेको उल्लेख गर्नुहुँदै प्रचण्डले जनवादी क्रान्तिपछि अब नयाँ आन्दोलन, नयाँ क्रान्ति र नयाँ अभियानको तयारीमा रहेको बताउनुभयो । भन्नुभयो, ‘अबको क्रान्ति जनवादी नभएर समाजवादी हो ।’ 

रुपान्तरण अभियानले समाजवादको बीउ रोप्न सुरु गरेको बताउँदै उहाँले  जनताको जीवनमा अधिकार र सुविधा दिन अभियान सुरु गरिएको प्रष्ट पार्नुभयो । माओवादीहरु एक नहुँदा जनतामा निराशा छाएको र बलिदानबाट आएका उपलब्धिहरु खेर जाने डर बढेकाले सबै एकताबद्ध हुन सहमत भइसकेको पनि उहाँको भनाई छ । उहाँले भन्नभुयो, ‘बाबुराम र विप्लवहरुसँग कुरा भएको छ, सबै मिल्ले कुरामा एकमत छौं । हामी विभाजित हैन, एकताबद्ध भएर नयाँ आन्दोलनमा जाने सहमति भएको छ ।’

आफ्नो नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध, सामाजिक न्याय र समृद्धिको लागि अभियान चलाएको उल्लेख गर्दै भन्नुभयो, ‘भ्रष्टाचार विरुद्धका अरु फाईलहरु समेत छिट्टै खोलिने छ ।’ सम्बोधनको क्रममा प्रधानमन्त्रीले चीनसँग केही परियोजना अघि बढाउने सहमति भएको जानकारी गराउँदै एउटा प्रोजेक्ट रुकुममा लागु गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

टिप्पणीहरू