लेनिन किन रुँदैछन् नेपालमा लगातार ?

लेनिन किन रुँदैछन् नेपालमा लगातार ?

माओवादी विद्रोहका ‘बाल लडाकू’ लेनिन विष्टले डेढ दशकदेखि सिंहदरबारलाई सुनाइरहेको तर शान्ति सम्झौतामा नअटाएको एउटा विषय हो– बालसैनिकको पीडा । १२ वर्षको कलिलो उमेरमा बन्दूक बोकेर ‘युद्ध–मैदान’मा होमिएका उनी राज्यबाटै हेपिएका छन् । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा सामेल भएको सत्र वर्ष भइसक्यो । ‘बेपत्ता छानबिन र सत्य निरूपण’का लागि बेग्लाबेग्लै आयोग बने । तर ती दुवैमा समेटिएनन्– लेनिनहरू । र, पनि ‘संक्रमणकालीन न्याय’को पर्खाइमा छन् ।

‘अन्तर्राष्ट्रिय मानवीय कानुनले नाबालिगलाई द्वन्द्वमा लैजानु युद्ध अपराध मान्छ । कमरेड प्रचण्डले मजस्ता हजारौँ बालबालिकालाई बन्दूक बोकाएका थिए । प्रचण्डले युद्ध अपराध गरेका छन् । हामीहरूलाई देशमै न्याय नदिए हेग पुर्‍याउँछौँ,’ लेनिनले भने ।

राज्यबाट ‘पूर्व बालसैनिक’का मागहरू संबोधन नभएको र आफूहरू न्यायका लागि भौँतारिइरहेको उनको गुनासो छ । उनी आफूजस्तै तीन हजार पूर्व बालसैनिकको पक्षमा राज्यविरुद्ध खडा छन् । तर राज्यसत्ता चलाउनेहरू ‘लेनिनहरूको आन्दोलन’ छल्दै छन् । २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र ‘विद्रोही सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे । नेपाललाई हिंसाबाट शान्तिको बाटोमा हिँडाए । तर बन्दुक बिसाए पनि ‘युद्ध अपराध’को बोझ बोकेरै हिँडिरहेका छन्, प्रचण्ड ।

२०६३ सालको परिवर्तनपछि ‘लेनिन’हरू भुइँमै छन् । उनीहरूले पटकपटक सिंहदरबारलाई आफ्नो व्यथा सुनाउन खोजे । तर आफ्नै पूर्वसर्वोच्च कमाण्डर प्रधानमन्त्री हुँदासमेत न्याय पाएनन् ।

‘संक्रमणकालीन न्याय’को काम अपूरै छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मै अल्मलिएका छन्, दलहरू । ‘विद्रोही–नेता’ प्रचण्ड हिजोआज सत्तास्वार्थमा रुमल्लिएका छन् । लेनिनहरू सडकमा छन्, आन्दोलनमै छन् । युद्धकालीन योद्धाहरू खाडीमा छन्, अंगभंग छन्, कष्टकर जीवन बाँचिरहेका छन् ।

काभ्रे– बनेपाका लेनिन विष्ट सुनगाभा बोर्डिङ स्कूलमा कक्षा पाँचमा पढ्थे । त्योबेला १२ वर्षका थिए । २०५९ सालतिर स्कूल बिदा थियो । मामाघर मकवानपुर गए । ‘मेरो गाउँमा माओवादीहरू थिएनन् । माओवादी भनेको मैले रेडियोबाट सुनेको थिएँ । देशभर युद्ध थियो । एकदिन स्कूल बिदा भयो, मामाघर गएँ, अनि मेरो जीवनले अर्कै मोड लियो,’ उनले भने । मामागाउँ पुग्दानपुग्दै लेनिनले माओवादीहरू भेटे । बेलाबेला मामाघरतिर झुल्किने छापामारहरू देखे । र, माओवादी आन्दोलनसँग विस्तारै रम्न थाले । माओवादीका स्थानीय नेता–कार्यकर्ताहरू ‘लेनिन’हरूलाई माया गर्थे । लुकिछिपी आफूतिर तान्थे ।

‘बनेपाबाट एक्लै मामाघर गएको थिएँ । माओवादीहरूले दिनदिनै नाचगान गर्थे, नाटक देखाउँथे । मामागाउँका अरु चार साथी र म नजान्दा–नजान्दै माओवादीसँग जोडियौँ,’ लेनिनले भने, ‘हामीहरू त्योबेला लहैलहैमा जनयुद्धमा सामेल भइसकेका थियौँ ।’ १२ वर्षीय लेनिन रहर अनि लहडमै माओवादी बने । गाउँतिर युद्धको बेग्लै छाप थियो । माओवादी विचारले तान्यो, राष्ट्रियताले तान्यो । र, जनवादी गीत–संगीतले जंगलतिरै लग्यो । उनी सानै थिए, चतुर थिए । पार्टीले कार्यविभाजन गर्‍यो, तितरबितर भए । माओवादी नेताहरूले ‘लेनिन’हरूलाई नजानिँदो गरी ‘शाही सेना’को जासुसीमा खटाउँथे ।

लेनिनलाई सैन्य फाँटमा सारियो । बन्दुक पड्काउन सिकेपछि युद्ध–मोर्चामा खटिए । त्योबेला चारैतिर ‘नेपाली सेना र जनमुक्ति सेना’बीच भीडन्त भइरहन्थ्यो । उनी ठूलै भिडन्तमा त परेनन् । तर मकवानपुर चौघडाको प्रहरी चौकी हान्दा आफैँ मैदानमा थिए । ‘युद्धको मोर्चामा खटिएपछि पेस्तोल, राइफल र बन्दुकसँग खेल्न सिकेँ । हामीहरूलाई माओवादी नेतृत्वले एकखाले भ्रम छरेको रहेछ । मृत्यु वा मुक्तिको कसम खाएका थियौँ । लडाइँमा खटिएका मेरा दुई साथीहरू शहीद भएको खबर सुनेँ, निकै दुःख लाग्यो,’ लेनिनले पीडा सुनाए ।

०५९ सालमा लेनिन जंगल पस्दा एक्लै थिएनन्, उनीसहित पाँचजना नाबालिग पनि थिए । तीमध्ये माओवादीमा लागेका दुई जना सहिद भए, दुई जना बेपत्ता छन् । तर लेनिन भने ‘युद्ध आतंक’ छल्दै बाँचे । सानै उमेरमा युद्ध–मैदानमा होमिएका लेनिनले राम्रोसित पढ्न–लेख्नसमेत पाएनन् । पाँच कक्षा पढ्दा–पढ्दै ‘बम–बारुद र बन्दुक’सँग खेले । परिवारबाट टाढिए । साथीभाइ गुमाए । देश बनाउने सपना देखे । ‘पाँच कक्षा पढ्दापढ्दै कापी–कलम च्यात्यौँ । बुर्जुवा शिक्षा भन्दै पढाइ छाड्यौँ । अहिले माओवादी नेताका छोराछोरीहरू युरोप, अमेरिका र चाइना पढ्छन् । तर हामीहरूको अवस्था भने दयनीय छ,’ विगत सम्झिँदै लेनिनले भने । 

माओवादी शान्ति प्रक्रियामा आएसँगै बालसैनिक लेनिनहरू सेना समायोजनका लागि बनाइएका लडाकु शिविरमा बसे । ‘हामीहरू चितवनको जुटपानीमा बस्यौँ । तेस्रो डिभिजिन थियो त्यहाँ । जंगल फाँडेर चार वर्ष ब्यारेकभित्रै बस्यौँ,’ उनले भने । २०६५ मंसिरमा ‘लेनिन’हरूलाई १८ वर्ष नपुगेको भन्दै ‘अयोग्य’ ठहर्‍याइयो । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले तत्कालीन विद्रोही कमाण्डर प्रचण्डको टाउको जोगाइदिए । ‘एउटा गेटबाट निकाले पनि अर्को गेटबाट भित्र छिराउँछौँ’ भनेका प्रचण्डले आजसम्म फर्केर पनि हेरेनन् ।

‘अयोग्य शब्दप्रति आपत्ति छ । तत्कालीन प्रधानमन्त्री माधकुमार नेपाल र कमरेड प्रचण्ड साक्षी छन् । अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपाली नेताहरूले झुक्याए । नेपाली सेनामा समायोजनका लागि तम्तयार भएका थियौँ,’ लेनिनले भने, ‘राज्यले हेप्यो । खाली हात घर पठायो ।’ २०६६ माघ १० गते ‘बालसैनिक’को भारी बोकाउँदै शिविरबाट निकालिए– लेनिन । उनीजस्ता २ हजार ९ सय ७३ जना कम उमेरका बालसैनिक थिए । उनीहरू प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी नेताहरूको ‘चेनअफ कमाण्ड’ मान्दै घर फर्किए । ‘एउटा झोला र दश हजार गाडी भाडा दिएर सरकारले हामीहरूलाई घर पठायो । बिदाइको बेला रुँदै, माला फाल्दै निस्किएका थियौँ,’ लेनिनले ०६६ माघ ११ गते सम्झिए । 

२०६३ सालको परिवर्तनपछि ‘लेनिन’हरू भुइँमै छन् । उनीहरूले पटकपटक सिंहदरबारलाई आफ्नो व्यथा सुनाउन खोजे । तर आफ्नै पूर्वसर्वोच्च कमाण्डर प्रधानमन्त्री हुँदासमेत न्याय पाएनन् । अन्ततः लेनिनको आह्वानमा पूर्व बालसैनिक संगठित भए । माओवादीले दुरुपयोग गरेका पूर्व बालसैनिक एउटै घेरामा उभिए । र, प्रचण्डलाई चुनौती दिइरहेका छन् । ‘प्रचण्ड तीनपटक प्रधानमन्त्री बन्दा पनि हाम्रो समस्या ज्यूँकात्यूँ छ । कानुनी लडाइँमा छौँ । राज्यले गल्ती गरेको छ । पाँच कक्षा पढ्दै गरेका हामीहरूको जिन्दगी बर्बाद भयो,’ उनले भने, ‘माओवादी नेताहरूले भ्रममा पारे । पूर्व बालसैनिकहरू एकजुट भयौँ । संगठित भएर आवाज निकाल्यौँ ।’

लेनिनको आवाज दबाउन माओवादी नेताको आडमा ०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित उनको डेरामा लुटपाट गरियो । तोडफोड गरियो । आक्रमण गरियो । लेनिनले भागेर ज्यान जोगाए । ‘माओवादी कार्यकर्ताहरूले हाम्रो समस्या बुझ्दैनन् । मेरो कोठा तोडफोड गरे । मलाई कुटे । मलाई एकवर्ष जेलमा पु¥याए । अपहरण पनि गरे । तर सत्यको स्वर रोकिँदैन । म फेरि भन्छु, म माओवादी आन्दोलनको विरोधी होइन । मैले न्याय खोजेको हो । हामीमाथि अपमान गरियो,’ माओवादीप्रति उनको गुनासो छ ।

आफ्नो हकअधिकार प्राप्तिका लागि २०६९ सालमा लेनिनको समूह माओवादी पार्टीको केन्द्रीय कार्यालय घेर्न पेरिसडाँडा पुग्यो । माओवादीले दुःख, कष्ट र सास्ती दिइरहे । ०६९ माघ १० गते झुटा मुद्दा लगाएर माओवादीले डिल्लीबजार सदरखोर पुर्‍यायो । निर्दोष सावित हुँदै ०७० माघ १० गते उनी जेलबाट निस्के । ‘प्रचण्डले शान्ति प्रक्रियाको कुरै सुन्न चाहँदैनन् । पीडितहरूको आवाज सुन्दैनन् । न्यायका लागि अन्तिमसम्म आवाज उठाउँछौँ । देशले न्याय नदिए, अन्तर्राष्ट्रिय समुदाय गुर्हाछौँ,’ प्रचण्डलाई चुनौती दिन्छन् लेनिन, ‘अहिले सत्ता र शक्तिको आडमा जे पनि गर्नसक्छन् । हाम्रा मागहरू ओझेलमा पार्न लागिपर्छन् । तर सत्ता ढलेर नेताहरू सडकमा पुगेपछि हामीहरूले न्याय पाउँछौँ ।’

देश ‘शान्तिको बाटो’मा हिँडेको डेढ दशक भइसक्यो । तत्कालीन विद्रोही माओवादीका सुप्रिमो ‘प्रचण्ड’ तीन–तीन पटक देशको प्रधानमन्त्री भइसके । तर उनले नेतृत्व गरेको हिंसात्मक आन्दोलनको अभियानमा लागेका लेनिनहरू आजपनि आन्दोलनमै छन् । सत्र वर्षअघिका आफ्ना सर्वोच्च कमाण्डर हालका प्रधानमन्त्री ‘प्रचण्ड’सित कलिलो उमेरमा बन्दूक बोक्दा खोसिएको अधिकारको एकएक हिसाबकिताब माग्दैछन् उनी । ‘हाम्रो दाबी छ– युद्ध अपराध भयो । सर्वोच्च अदालतसम्म धाएका छौँ । अदालतले न्याय देओस्, नेपालमा न्यायको ढोका बन्द नहोस्,’ लेनिनले भने, ‘हिजो हामी बच्चा थियौँ, आज हाम्रै बच्चा छन् । हामीहरू अभावमा बाँचिरहेका छौँ । हाम्रो भविष्यमाथि खेलवाड गरियो । क्षतिपूर्ति चाहिन्छ, कानुनी प्रक्रियामा छौँ ।’

नेपालको ‘संक्रमणकालीन न्यायिक प्रक्रिया’मा लेनिनहरूलाई पूरै लात हानिएको छ । राज्यले उनीहरूलाई शान्ति प्रक्रियाबाट मात्रै छुटाएको छैन, त्यही प्रक्रियाका सिलसिलामा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पनि उनीहरूबाट टाढै राखिदियो । ‘हाम्रा मागहरू लुकाउन खोजियो । पीडितहरूलाई बाइपास गरियो,‘ उनले भने, ‘केही सीमित मानिसहरू रात्रिभोजमा रमाएपनि हामी आन्दोलनमै छौँ ।’

राज्यलाई लेनिनको सन्देश

हामीले खोजेजस्तो न्याय नहुन पनि सक्छ । प्रचण्डले खोजेजस्तो अन्याय पनि नहुनसक्छ । न्याय पाउँछौँ, आशावादी छौँ । पीडकहरू जहिल्यै सत्ता र शक्तिकै समिपमा हुन्छन् । राज्यसँग पटकपटक वार्ता गरेका छौँ । राज्यले हामीसँग गरेका सहमति कार्यान्वयन गरोस् । नेपालमा हामीजस्ता धेरै पीडित छन् ।

भविष्य नदेखेर दिनदिनै नेपाल छाड्न बाध्य पारिएको छ । हिजो गरिएको सहमति पालना गरियोस् । नेताहरूका आफन्त र परिवारका सदस्यले हाम्रोजस्तो दुःख भोगेकै छैनन् । हामीहरू सामाजिक बहिष्कारमा पर्‍यौँ । विभेद गरियो । सडकमै छौँ । राज्यको आँखाबाट अपराधी जस्तै छौँ । राज्यले हामीहरूलाई जिउँदै मारिरहेको छ । परिवर्तनको महसुस भएन, पीडितहरू आज पनि पीडितै छौँ । जनता रोइकराइ गरिरहेका छन् । व्यापारीहरूले आत्महत्या गर्ने स्थितिमै पुगेका छन् । सिंगापुर बनाउँछु भन्नेहरूले यो देश के बनाए? दशवर्षे युद्धमा जनताका छोराछोरीहरू मार्ने काम गरियो । घाइतेहरू उपचार नपाएर छट्पटाइरहेका छन् । हिजोका सत्ताभोगी र प्रचण्डमा कुनै भिन्नता देखिएनन् ।

अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति चासो छ । पीडितको पक्षमा अन्तर्राष्ट्रिय समुदाय र नेपाल सरकारले मिलेर काम गरुन् । हिजोका तितापीरा सबै कुरा कुरा भुलेर बाँच्न पाइयोस् । माओवादीले हाम्रो बाल्यकाल लुट्यो । प्रचण्डले जानिजानी हाम्रो भविष्य सकिदिए । युद्धमा नाबालिगहरूको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्धको अपराध हो । र, प्रचण्डले हामीहरूलाई युद्धमा प्रयोग गरे । हामीहरू युद्धपीडित हौँ ।

पूर्व बालसैनिकहरू नेपालको शान्ति प्रक्रियाबाट पूर्णरुपमा बहिष्कारमा परेका छौँ । हामीहरूलाई कहिकतैबाट सम्बोधन गरिएन । राज्यले हेप्यो, युद्धले जिन्दगी बर्बाद बनायो । ‘संक्रमणकालीन न्याय’ विधेयकमा समेत हामीहरूलाई समेटिएन । र, संयुक्त राष्ट्रसंघले पनि हाम्रो गुनासो सुनेन । हामीहरू छट्पटाइरहेका छौँ ।
 

टिप्पणीहरू