अस्पतालका मेडिकल सुपरिटेन्डेण्टमाथि कुटपिट, आकस्मिक बाहेकका सेवा ठप्प

अस्पतालका मेडिकल सुपरिटेन्डेण्टमाथि कुटपिट, आकस्मिक बाहेकका सेवा ठप्प
सुन्नुहोस्

- ऋषि भट्टराई

रुपन्देहीको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का एक चिकित्सकमाथि कुटपिट भएको छ । मेडिकल सुपरिटेन्डेण्ट डा.राजेन्द्र बस्याललाई अस्पताल हाताभित्रै कुटिएको बताइएको छ ।

अस्पतालमा उपचाररत सुत्केरीको मृत्युपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहँदा बस्यालमाथि कुटपिट भएको अस्पताल प्रशासनले जनाएको छ । मृतकका आफन्तको कुटाइबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

गुल्मीको सत्यावती गाउँपालिका घर भई भैरहवा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको हिजो मृत्यु भएको हो । उनले सोही अस्पतालमा अस्ति ५ किलोग्रामको शिशु जन्माएकी थिइन् । 

उनको र बच्चा दुवैको अवस्था सामान्य थियो । हिजो बिहान शैयामा ढलेकी उनको दिउँसो मृत्यु भएपछि अस्पतालको अवस्था तनावग्रस्त भएको हो । आफन्तले शव बुझेर लैजान लाग्दा उत्तेजक समूहले अस्पताल तोडफोड गरेका छन् । 

त्यसपछि अस्पताल प्रशासन, प्रहरी र आफन्त बसेर छलफल गरिरहँदा केही व्यक्तिले बस्यालमाथि कुर्सी र टेबुलले प्रहार गरेको बताइएको छ । बस्यालको टाउको र छातीमा चोट लागेको छ । 

मेडिकल सुपरिटेन्डेण्टमाथि हातपात भएपछि अन्य स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले कुटपिटमा संलग्न भएको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू