मान्छे नै नचिनी पछि लाग्छन् महाशय
तीर्थ सिग्देल
माओवादी बनेर ससुरालीको सम्पत्ति हडपेर अचानक धनी बनेका दुर्गा प्रसाईं अहिले राज्यविरुद्ध अन्तिम लडाइँ लड्दै छन् । बैंक तथा वित्तीय संस्थालेआममान्छेलाई उठिवास लगाएका कारण आफू जागेको बताउँछन् तर उनको आफ्नै १० अर्बजतिको ऋण छ, त्यो साँवा त कता हो कता ब्याजसमेत तिर्न नसकेर भौंतारिरहेका छन् । धेरै मान्छेलाई लाग्ला, उनी अरूका लागि लडिरेहका छन्, यथार्थ त्यस्तो होइन, उनी अरूलाई मोहरा बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न खप्पिस छन् ।
कुनै दिन चर्चित शनिश्चरे मावि स्कूलका हेडसर मोहन जोशीलाई कुटेर रेस्टिकेट भएका दुर्गा प्रसाईं अहिले गणतन्त्रविरुद्ध विप्लव गर्ने खम्बा बनेको सुन्दा उनका सहपाठी भन्छन्– दुर्गा एकदमै लद्धु हो तर ऊ सानैदेखि कुरा गर्न जान्दथ्यो ।
विगतमा उनको परिवार हालको अर्जुनधारा नगरपालिकामा बस्थ्यो । २।३ बिघा जग्गा भएको मान्छे त्यो बेला धनीमानीमा गनिँदैनथ्यो बाबु कृष्णप्रसाद हट्टाकट्टा थिए । स्वभाव ठ्याक्कै दुर्गाकै जस्तो । गाउँठाउँमा साँध–सिमाना झैझगडा र मुद्दा मामिला गरिरहने खालका । त्यो बेला नै नजिकै बस्ने भगवान् गिरीकी छोरीसँग बिहे भयो । त्यो बेला गिरी परिवार हेपिएको थियो । पूर्वमा गिरी परिवारको जगजग भए पनि भगवान गिरीले अवैध रुपमा राखेकी चन्द्रमायापट्टिकी छोरीसँग दुर्गाको बिबाह भएको हो ।
पछि तिनै गिरी परिवारका दाजुभाइविरुद्ध लामो समयसम्म मुद्दा लडेर अहिलेको सम्पत्ति हात पारे । जानकारहरूका अनुसार मुद्दा लडुञ्जेल उनीसँग चिया खाने पैसासम्म हुँदैनथ्यो । दुर्गाको परिवार पहिले कांग्रेस हो । पछि जब उनले जेठी सासू इन्दिरा गिरी, सालो रामबाबु र श्रीमतीको तर्फबाट दाजुभाइहरू प्रेमकुमार गिरी, नवीन गिरीलाई मुद्दा हाले त्यसपछि माओवादीको सहारा लिन पुगे । त्यही समय स्थानीय माओवादीलाई हातमा लिएर दुर्गाले प्रेम गिरी र नवीन गिरीलाई आक्रमणसमेत गराए ।
पूर्व माओवादी आन्दोलन उत्कर्षमा पुगेका बेला नवीन गिरीले चलाएको बुट्टाबारीको पेट्रोल पम्पमा गोली चलाउन लगाए । त्यस घटनामा ज्यान जोगाएर भागेका उनी त्यसैबेलादेखि अष्ट्रेलिया बस्छन् ।
त्यसअघि दुर्गा प्रसाईंले ग्रिल फ्याक्ट्री खोलेका थिए । त्यो डुबेपछि फर्निचर उद्योगतिर लागे । दाजु राकेशसँग मिलेर बिर्तामोडमा डिजाइनर फर्निचर उद्योग खोले, जसको काम अबैध थियो । किस्ताबन्दी कार्यक्रम चलाएर फर्निचरलगायत सामान बेच्ने उद्देश्य थियो । त्यो उद्योगले पैसा उठाएर सामान नदिएको भन्दै उजुरी परेपछि बन्द भयो । त्यसपछि भैँसी पाल्न लागे । लिएको ऋण नतिरेपछि बैंकले भैंसी लग्यो । त्यसअघि विदेश पनि पुगे । युरोपतिर केही वर्ष बसेपछि फर्केका थिए।
कसरी हात पारे सम्पत्ति ?
संकटकाल लाग्नुभन्दा अघि नै उनले माओवादी नेताहरूसँग सम्पर्क बढाए । त्यतिबेला बिर्तामोडस्थित काठको घरमा बस्थे, जहाँ माओवादीको बन्दुक लुकाउने, खानपिन गर्ने अड्डा थियो । अहिले कतिपय माआवादी भन्छन्, उनी माओवादी हुनुको उद्देश्य जेठीसासू, सालो र श्रीमतीलाई अंश नदिने ससुरालीमाथि भाटे कारबाही गर्नु अनि अंश हात पार्नु रहेछ ।
यसैबेला उनका ससुराली कृष्ण गिरीका छोरा नवीनमाथि माओवादी छापामारले कुटपिट गरे । त्यसपछि प्रसाईंको ससुराली परिवार त्रसित बन्यो । यसरी मुद्दा लडिराख्ने हो भने प्रसाईंले माओवादी लगाएर मार्ने पो हो कि भन्ने त्रास बढेपछि उनीहरूले हाल बीएण्डसी अस्पताल भएको ४ बिघा जग्गा प्रसाईंका साला, जेठीसासू र श्रीमतीको नाममा पास गरिदिए । ससुरालीबाट अंश दिलाउने क्रममा प्रसाईंलाई संकटकालमा सेनाले चरम यातना दिएको थियो । तर, उनको परिवार कांग्रेसमा रहेकाले निकै ठूलैहरूको सोर्स लगाएर तारिखमा छुटे । त्यसो त अदालतले पनि अंश मुद्दामा प्रसाईं परिवारकै पक्षमा फैसला गरेको थियो । तर, गिरी परिवारले जग्गा दिने छाँट नदेखाएका कारण माओवादीको साथ लिएर जग्गा आफ्नो बनाउन सफल भएका हुन् ।
बिर्तामोडको मुटुमा रहेको जग्गा हात पारेपछि भक्तपुरमा घर ठड्याएर उतै बस्ने योजना बनाए । तर, त्यतिञ्जेलसम्म बंगलादेशमा एमबीबीएस पढ्दै गरेका सालो रामबाबु गिरीले अस्पताल खोलौं भने पछि प्रसाईंको ध्यान त्यता खिचिएको थियो ।
धोका खानेहरू धेरै छन्
आफ्नो काम लिन हरेक तिकडम गर्न सक्ने उनीबाट पीडित धेरै छन् । अस्पताल बनाउँदाको गिट्टी–बालुवा, सिमेन्ट, टायल्स, रडको पैसा नपाउनेहरू अझै पनि छन् । उनीहरूले अस्पतालविरुद्ध मुद्दा हाले पनि पावर लगाएर उल्टै पक्राउने गरेका उदाहरण धेरै छन् । शुरुमा केही स्थानीय पत्रकारलाई हातमा लिएर आफ्नो पक्षमा लेखाउने प्रसाईंले पछि युट्युबेहरूलाई आश्रय दिएर आफ्ना कुरा भन्न लगाए ।
अस्पताल बनाउने ठेक्का पाएका चितवनतिरका ठेकेदारलाई अस्पताल बनाइनसक्दै लखेटे । ती ठेकेदारले मुद्दा हाले पनि उनलाई कुनै हात नलागेको नजिकका मानिस बताउँछन् । एकपटक उनले आफ्नै सालोलाई समेत पक्राउ गराए । सालोले आफ्नो हक खोजेपछि नक्कली सर्टिफिकेटमा पक्राउ गराए, त्यसमा रामबाबु गिरीलाई प्रहरीले नक्कली डाक्टरको रुपमा मुद्दा पनि चलायो । धेरैजसो मारवाडी व्यापारीको अस्पताल बनाउँदाको सामानको पैसा अझैसम्म तिरेका छैनन् । एक जना मारवाडी त पैसा उठाउन नसकेर सिलिगुडीतिरै गएर बसेका छन् । उनले अनेक गरेर केही पैसा त लिए तर अझै पनि नेपाल फर्कन सकेका छैनन् ।
उनले मारवाडीविरुद्ध दिने अभिव्यक्ति त्यही कारण उब्जिएको हो भन्नेहरू धेरै छन् । दुर्गा प्रसाईंको खुबी छिट्टै ठूला नेताहरूलाई हात लिन सक्ने र आफ्नो कामका लागि अनेक प्रपञ्च गर्न सक्ने छ । राजनीति खासै जान्दैनन् तर अहिले एकाएक चर्चामा रहेका प्रसाईंले विगतमा प्रचण्डको किचन क्याबिनेट र पछि केपी ओलीको दाहिना बने पनि केही सिकेको हुनसक्ने आकलन गरिन्छ । यद्यपि, उनको बोल्ने शैली र तर्क क्षमता देख्नेहरू यो कुरा पत्याउन तयार हुँदैनन् । उनी हरेक क्षण छाडा शब्द बोल्थे, जसकारण अस्पतालका नर्स छेउछाउमै आउन डराउँथे । कति डाक्टरलाई अस्पतालमै कुटपिटसमेत गरेका प्रसाईंको विगत त्यति सुन्दर छैन । जति आजभोलि राजा ल्याउने र यो व्यवस्थाविरुद्ध उनले बोल्दा समर्थन आउँछ, त्यो सबै कृत्रिम हो भन्नेहरू छन् ।
उनी एमाले हुँदाका कथा त झन् कति हो कति । झापाका एमालेहरू उनी चितवन महाधिवेशनको प्रतिनिधि बने भन्दा तीन छक्क परेका थिए । तर, जब पछि केन्द्रीय सदस्य बनेर आए, त्यसपछि त मुच्र्छा नै परे । त्यसपछि झापा ३ मा सांसदको उम्मेदवारका लागि तयारी शुरु गरे अनि त भागारेभाग भो !
टिप्पणीहरू