अब कसले फुत्काउला देउवाको हातबाट टिकट

अब कसले फुत्काउला देउवाको हातबाट टिकट

मंसिर ४ गते चुनाव सकिएको एक वर्ष पूरा भएको छ । चुनाव अर्थात् २०८४ आउन पूरै चार वर्ष बाँकी छ तर रवि लामिछानेदेखि केपी ओलीसम्म मिसन ०८४ भनेर अगाडि बढ्न थालेका छन् । यही बेला सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा भने प्रतिनिधि सभा सदस्यमा लड्न कांग्रेसभित्र कोत पर्वको तयारी हुन थालेको छ। 

०४८ देखि ०७९ सम्मका सातवटै चुनाव जित्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा अब चुनाव नलड्ने आकलनसाथ कांग्रेसभित्र कोत पर्वको तयारी शुरु भएको बताइन्छ । ०८४ मा देउवाको उमेर ८२ पुग्नेछ । उनका गाउँवासी रुवाखोलाका अनुसार भने उनको वास्तविक उमेरभन्दा चल्तीको उमेर चार वर्षले कम हो । कांग्रेसभित्रका आकांक्षीहरू अब यो वृद्ध उमेरमा देउवा चुनाव लड्दैनन् भन्ने अनुमानसहित आ–आफू उठ्ने तयारीमा छन् । देउवाले ०७९ को चुनावमा आफूलाई यो अन्तिम पटक भोट दिनुस् भनेकाले पनि कांग्रेसभित्रका आकांक्षीलाई आकांक्षा राख्नु स्वाभाविक देखिएको छ । 

कांग्रेसभित्र अहिलेका आकांक्षीले आफूले टिकट नपाउने अवस्था आउँदा देउवालाई फेरि उठाउने त्यो नभए डा. आरजु देउवा राणा र छोरा जयवीर देउवासम्मलाई उचाल्ने योजनामा छन् । डडेलधुराबाट प्रतिनिधिसभामा आउन खोज्नेमा परराष्ट्रमन्त्री एनपी साउद, डा. आरजु राणा देउवा, प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री तथा सभापति देउवाका भतिज प्रकाश, नेविसंघका पूर्व सभापतिहरू नैनसिंह महर, केशव सिंहदेखि ए क्लासका ठेकेदार तथा डडेल्धुरा कांग्रेस सभापति भीमबहादुर साउदसम्म छन् ।

डडेल्धुरामै जन्मेका एनपी साउद कञ्चनपुर–२ मा कहिले हार्ने, कहिले जित्ने खेलमा अल्मलिनुभन्दा डडेल्धुरालाई सुरक्षित ठान्छन् । आरजु पनि कैलाली–५ मा हार व्यहोर्नुपरेकाले डडेल्धुरा सुरक्षित हो कि भन्नेमा छिन् । उनले रुडुकलगायत एनजिओबाट डडेल्धुरामा गतिविधि गरिरहेकी छन् । डडेलधुरा नगएरै कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत बनिरहेकी छन् । कैलाली ५ ख को प्रदेश क्षेत्रमा कांग्रेसकै विद्रोही उम्मेदवार क्षितिज भण्डारीका कारण जित हासिल गरेका भौतिकमन्त्री प्रकाश देउवा पनि धनगढीभन्दा डडेल्धुराबाटै जित सहज हुने आकलनमा छन् । उनले विकास बजेट धनगढीकै हाराहारीमा डडेल्धुरामा हालेका छन् ।

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर त ०७९ मै कैलाली, कञ्चनपुरमा समेत आएर चुनाव लड्न तयार भएका थिए तर टिकट पाएनन् । कांग्रेसले डडेल्धुरालाई आफ्नो पकेट क्षेत्र माने पनि निर्विवाद छवि बनाएका डा. ताराप्रसाद जोशीले देउवाबाहेकका सबैलार्ई हराउन सक्ने विश्वास धेरैको छ । जोशी यसपटक स्वतन्त्र बनेर प्रदेश सभा सदस्य भएका छन् । उनी एमाले वा वाम उम्मेदवारका रुपमा ०८४ मा उठ्दा देउवा बाहेकलाई हराउन सक्छन् भन्ने अनुमान छ । 

टिप्पणीहरू