दुर्गा प्रसाईंलाई सफल पार्न भारतले ५० करोड दिन लागेको लेनिनको दाबी

दुर्गा प्रसाईंलाई सफल पार्न भारतले ५० करोड दिन लागेको लेनिनको दाबी
सुन्नुहोस्

सरकारविरुद्ध सक्रिय रुपमा लागेका पूर्व बालसैनिक लेनिन बिष्टले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतले आन्दोलनका लागि ५० करोड रुपैयाँ सहयोग गर्न लागेको ठोकुवा गरेका छन् । 

ऋण मिनाहा,हिन्दू राज्य र राजतन्त्र पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिएका प्रसाईंको अभियानलाई सफल बनाउन भारतले उक्त रकम सहयोग गर्न लागेको उनको दाबी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभालका स्वकीय सचिवले प्रसाईंलाई व्यक्तिगत रुपमा भेटेर सो प्रस्ताव राखेको उनको भनाइ छ ।

 

बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आन्दोलनको पूर्ण रोडम्याप तयारी अवस्थामा रहेको बताएका छन् । उनले भनेका छन्,‘दुर्गा प्रसाईंको अभियानलाई भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभालका स्वकीय सचिवले दुर्गा प्रसाईंलाई व्यक्तिगत रुपमै भेटी ५० करोड आर्थिकसहित आन्दोलनको पूर्ण रोड म्याप तयारी अवस्थामा छ ।’

त्यस्तै,शिवरात्रीको मौका छोपी भारतले आन्दोलन चर्काउनका लागि दुई लाख भारतीय बाबा, भिक्षु नेपाल पठाउन लागेको उनले उल्लेख गरेका छन् । उनी भन्छन्,‘अब हुने २०८० फागुन २५ को शिवरात्रीमा भारतीय बाबा,भिक्षुहरु भारतबाट दुई लाखसम्म नेपाल पठाउने र आन्दोलन चर्काउने रणनीति रहेको पाइन्छ ।’ 

यता,प्रसाईं नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ ले फागुन १ गते वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्ने जनाएको छ । वसन्तपुरमा पूर्वराजा ज्ञानेन्द्रको हातबाट दियो बालेर व्यवस्था परिवर्तन गरिने महाअभियानको जिकिर छ ।

टिप्पणीहरू