केपी ओलीको हट्यो,माधव नेपालको के होला ?
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेकाे छ । आगामी माघ महिनामा गर्ने भनिएको महाधिवेशनको मिति निर्क्यौल गर्न र केही नेताको जिम्मेवारी हेरफेरका लागि बैठक बोलाइएको भनिए पनि चुरो कुरो महाधिवेशन गर्ने कि विधान महाधिवेशन ? भन्नेमा केन्द्रित भएकाे छ ।
हालको नेतृत्वलाई निरन्तरता प्रदान गर्नको निम्ति विधान नै बाधक बनेको सन्दर्भ पार्टीभित्र पेचिलो हुँदै गएको छ । एमालेबाट विद्रोह गरेर समाजवादी गठन गरे पनि तत्कालीन एमालेको विधानलाई आधार मान्दै बनाइएको पार्टी विधानमा समेत नेतृत्वको उमेर हद ७० वर्ष नै कायम छ ।
उता एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अनुकूल हुने गरी ७० वर्षे प्रावधान हटाइसक्नु भएको छ । एमाले महाधिवेशनले गरेको उमेर हदको व्यवस्था पार्टी बैठकबाट हटाइएको थियो । यता एकीकृत समाजवादीमा पनि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सोही प्रावधानका कारण आगामी महाधिवेशनपछि नेतृत्वमा रहेर निरन्तरता दिनसक्ने अवस्था देखिँदैन ।
सोही कारण माघको महाधिवेशनलाई विधान अधिवेशनमा परिणत गर्ने विषयसमेत आजको बैठकमा उठ्ने बताइन्छ । त्यसबाट विधानमा केही संशोधन गरेर अघि बढ्ने सम्भावना प्रबल छ ।
सचिवालयका एक जना सदस्यले भने,‘तीन वर्षअघि पार्टी विद्रोहको बेलामा भद्दा कमिटी बनेको थियो । अब चुस्त कमिटी बनाएर पार्टी संगठन र गतिविधिलाई प्रभावकारी बनाउने भन्ने विषयले बैठकमा प्रमुखता पाउनसक्छ ।’
टिप्पणीहरू