फेरि आउँदैछ अन्धकार

फेरि आउँदैछ अन्धकार
सुन्नुहोस्

नेपालको राजनीतिमात्रै हैन, हरेक महत्वपूर्ण विषयमा वाह्य हस्तक्षेप कति चर्को छ प्रष्टै देखिन्छ, विभिन्न सन्दर्भमा । अबको तीन वर्षभित्र विद्युत प्रशारणका निम्ति थप ट्रान्समिशन लाइन जोडिएन भने काठमाडौं उपत्यकामा फेरि लोडसेडिङ हुन्छ । यो कुरालाई दृष्टिगत गर्दै राष्ट्रिय योजना आयोगले ३० अर्बको परियोजना बनाएर उर्जा हुँदै अर्थ मन्त्रालयसम्म प्रस्ताव पठायो ।

तर, त्यहाँ पुगेर फाइल रोकियो । किन ? कसरी ? कहाँ ? के ? भन्ने कुरा विचारै नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले भनेर त्यो प्रस्ताव चीन पुग्यो । नेपाली राजदूत बिष्णु पुकारले केही अनुदान, केही सहुलियत ऋणमा ट्रान्समिशन लाइन जडान गर्ने कुरा चिनियाँ निकायहरुमा गरिरहेका थिए । त्यहीअनुसार, प्रधानमन्त्रीको चीन भ्रमणमा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्ने कुरा पनि थियो ।

तर, एकाएक प्रधानमन्त्री चीन उड्नुभन्दा केही समयअघि मात्रै उर्जासम्बन्धी टोली भ्रमणबाट पछाडि हट्यो । किनभने, चीनसँग नेपालले यस्तो–यस्तो सम्झौताका लागि प्रस्ताव पठाएको छ भन्ने कुरा अन्त पुग्यो र त्यसपछि सबै कुरा रोकियो । चीनमा प्रस्ताव जानुअघि अर्थले किन फाइल अड्काइरहेको छ भन्ने कुरा पनि यही घटनाले प्रष्ट पार्छ । जबकि, उपत्यकाको जनसंख्या वृद्धिदर रफ्तारमा छ । त्यहीअनुसार विद्युत खपतदर पनि बढ्ने नै भयो । घर बनाउने क्रम चलिरहेकै छ ।

वैकल्पिक उर्जाका रुपमा सौर्य विद्युतलाई प्रवद्र्धन गर्ने कुनै कार्यक्रम सरकारले ल्याएको छैन । त्यसैले सबै घरमा जलविद्युत नै खपत हुने अवस्था छ । त्यसमाथि सवारी साधन पनि विद्युतीय आउन थालेको अवस्थामा विद्युतभार बहन गर्ने उपत्यकाको क्षमता अहिल्यै खस्किसकेको छ । अबको तीन वर्षमा नपुग विद्युत व्यवस्थापनका निम्ति उपत्यकावासीले घण्टौंको लोडसेडिङ व्यहोर्नुपर्ने निश्चितजस्तै हो, यदि अहिल्यै कुनै व्यवस्था भएन भने ।

राप्रपा नेपाल अध्यक्ष कमल थापाका अनुसार अमेरिका र भारतको भरमा प्रचण्ड टिकेका कारण यस्तो भएको हो । दक्षिणले केपी ओली विरुद्ध प्रचण्डलाई अगाडि सारेको राप्रपा बृत्तमा चर्चा छ । दक्षिणबाट दक्षिणा प्राप्त गरेका दुर्गा प्रसाईंलाई त्यताबाट हिन्दू राज्यको पक्षमा प्रदर्शन गर्न केही जनशक्ति पनि उपलब्ध गराइएको भनिँदै छ । 

अल्लि अघिसम्म भनिन्थ्यो, ‘दशैं–तिहारबीचमा सरकार ढल्दैछ ।’ तर, मंसिर आधा भइसक्यो, यस्तो कुनै सुरसार छैन । दशैंअघि कोशी प्रदेश सरकार बनाउने सन्दर्भमा भएको घटनालाई आधार मानेर त्यसो भनिएको रहेछ । संघीय सरकार ढाल्ने खेलोमा शेखर कोइराला धेरै अगाडि बढिसकेका थिए । तर, अमेरिकी लबीले गगन थापामार्फत शेखर समूहभित्र समस्या ल्यायो भनिन्छ । नेपालको राजनीति, विकास र जनजीवनमाथि वाह्य चासो बढ्दा नै धरानमा गोरु काट्ने, सर्लाही, नेपालगञ्जमा जातीय हिंसा भड्काउने काम भइरहेको भनिन्छ ।

 

टिप्पणीहरू