यताका रविलाई उताका रविको डिनर,भेटघाट छायाँमन्त्रीमा सीमित

यताका रविलाई उताका रविको डिनर,भेटघाट छायाँमन्त्रीमा सीमित
सुन्नुहोस्

यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विदेश सयरमा छन् । काठमाडौंबाट मलेसिया गएका उनी त्यतैबाट बेलायतको राजधानी लण्डनमा उत्रिएका हुन् । तर, उनको बेलायत भ्रमण नेपालीहरुको तामझाममै सीमित बन्ने देखिएको छ ।

लामिछानेको बेलायत भ्रमण कार्यक्रममा जोडिएका एक जना नेपालीका अनुसार उनको प्रयास बेलायती नेताहरुसँग भेटघाट गर्ने थियो । तर त्यहाँका कुनै पनि राजनीतिक पार्टीहरुले उनीसँगको भेटलाई त्यति चासो नदिएका कारण नेपाल छाड्नुअघि बनाइएको योजना कागजमा सीमित बनेको छ ।

उनले एक जना छायाँ मन्त्री (प्रतिपक्षी पार्टीका) नेतालाई भेटेर फर्किने अवस्था देखिएको बताइन्छ । यसमा उनकै नाम थर मिल्दो वयापारी रवि लामिछाने अगाडि सरेका छन् । व्यापारी रवि नेपालबाट पुग्ने कुनैपनि शक्तिशाली, प्रभावशाली र राजनीतिक व्यक्तिलाई डिनर खुवाउने वा चन्दा दिएको भरमा चिनेका केही बेलायती सांसदलाई भेटाइदिने गर्छन् । त्यसैबाट आफ्नो सम्बन्ध बढाउने उनको पेशाबारे बेलायतमा बस्ने नेपालीहरु परिचित छन् ।

बेलायतका रविले नेपालबाट त्यहाँ पुगेका रविलाई बेलायती संसदको क्यान्टिनमा केही सांसदहरुसँगै खाजा खाने व्यवस्था मिलाएकाले त्यसलाई पार्लियामेन्ट प्रोग्रामको रुपमा प्रचार गर्न खोजिएको छ । बेलायती रविले तत्कालीन लण्डनस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (हाल जापानका राजदूत) मार्फत् त्यो बेलाका उपप्रधान तथा गृहमन्त्रीलाई पट्याएर नेपालमा संविधान दिवसको दिन तक्मा लिन सफल भएका थिए ।

बेलायती रविले केही समयअघि नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर लण्डन पुग्दा पनि त्यसै गरेको बताइन्छ । त्यतिबेला आइजिपीलाई बोलाएको डिनरमा केही प्रवासी नेपालीलाई समेत तेर्स्याई आफ्ना कुरा राखेका थिए । लामो प्रवचन दिएपछि कुँवर दिक्क भएर डिनरबाट निस्कन खोजेको बारे अहिले पनि बेलायतस्थित नेपाली समुदायमा चर्चा हुने गरेको छ ।

त्यसैगरी काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा सन् २०२१ अक्टोबरमा बेलायत जाँदा पनि उनले ठूलै तामझाम गरेका थिए । नेपाली दूतावासले आयोजना गर्न नसकेको रात्रिभोज आफूले गरेको र केही बेलायती सांसदहरुसमेत सहभागी गराएको बताएका थिए । 

कार्यक्रममा प्रधानमन्त्रीसँगै बसेर नेपालबाट गएका मन्त्री, सचिवलगायतलाई  डिनरमा अर्कै टेबुलमा बस्न संकेत गरेका थिए । त्यतिबेला राजदूत नेपाल फर्केको र अर्का राजदूत नियुक्त नभएको अवस्था थियो । 

उनै रवि लामिछाने रास्वपा सभापति रविलाई स्वागत गर्न विमानस्थल पुगेका हुन् । त्यसपछि चौबिसै घण्टा दुई जना लामिछाने सँगसँगै देखिएका छन् । रवि प्रायः सबै तत्काल तय गरिएका अन्तरक्रिया कार्यक्रममा सहभागी भएको पाइन्छ । तर, बौद्धिक नेपाली समुदायको खासै उपस्थिति र सहभागिता नदेखिएको केही सहभागीले बताएका छन् ।

रवि लामिछानेलाई स्वागत गर्न विमानस्थलमा देखाइएको अनावश्यक तामझाम र बेलायतको स्थानीय स्वीन्डन काउन्सिलले यसअघि नै बनाएको सडक उद्घाटन गर्ने भनेर राखिएका कार्यक्रमले काउन्सिल असन्तुष्ट बनेको पाइन्छ  । काउन्सिलरले सडक उद्घाटनबारे आश्चर्य व्यक्त गरेपछि सडक अवलोकन भनिएको छ ।

यताका रविलाई स्वागत गर्न विमानस्थलमा उताका रविसँगै नेपाल प्रहरीका भूपू डिएसपी बाचस्पति रेग्मीसमेत पुगेका थिए ।

टिप्पणीहरू