ग्रीसको प्रलोभन देखाउँदै लाखौं ठगी

ग्रीसको प्रलोभन देखाउँदै लाखौं ठगी

वैदेशिक रोजगारीमा ग्रीस पठाइदिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठग्दै आएका एकजना समातिएका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी धन्दा चलाउँदै आएका गोरखाका होमबहादुर तामाङलाई पक्राउ गरेको हो । 

ललितपुरको बागडोल बस्दै आएका ५० वर्षीय होमबहादुरले ग्रीस जान प्रतिव्यक्ति १० लाख ५० हजार लाग्ने जनाउँदै पीडितहरुबाट पटक–पटक गरी १३ लाख ८४ हजार रुपैयाँ उठाएपछि फरार भएका थिए । पीडितहरुले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी हालेपछि प्रहरीले गरेको खोजतलासमा होमबहादुर पक्राउ परेका हुन् । 

उनलाई हिजो काठमाडौंको महाराजगञ्जबाट नियन्त्रणमा लिएको बताइएको छ । यस सम्बन्धमा थप कारबाहीका निम्ति प्रहरीले उनलाई विभागको जिम्मा लगाएको छ ।

टिप्पणीहरू