नक्कली ब्लुबुक बनाउने दुई जना प्रहरीको नियन्त्रणमा

नक्कली ब्लुबुक बनाउने दुई जना प्रहरीको नियन्त्रणमा

नक्कली सवारी दर्ता किताब बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो । 

पक्राउ पर्नेमा काठमाडौंको बौद्ध बस्ने काभ्रेका ४२ वर्षीय डिबि भन्ने दिलबहादुर घिसिङ तामाङ र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका ३३ वर्षीय आईतसिंह तामाङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट भन्सार चोरी पैठारी गरी ल्याएका सवारीसाधन समेत बरामद गरेको जनाएको छ । 

प्रहरीका अनुसार बागमती प्रदेश ०१०२५ च २७५९ नम्बरको कारको एक थान ब्लुबुक, बागमती प्रदेश ०१०२८ च ६३१३, ०१०२३ च २६५७, ०१०२६ च ६५७१ र बा २१ च १४६७ नम्बरको सवारी दर्ता प्रमाणपत्र एक–एक थान बरामद गरिएको छ । 

त्यस्तै, बागमती प्रदेश ०१०२५ च २७५९, ०१०२८ च ६३१३, ०१०२३ च २६५७, ०१०२३ च ६५७१, बा २१ च १४६७ नम्बरको कारसहित विभिन्न सरकारी कार्यालयको छाप चार थान तथा मोबाईल दुई वटा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
 

टिप्पणीहरू