टोखाका होटलमा वेश्यावृत्ति, एजेन्टमार्फत् बालिकाहरुको ‘सप्लाई’

टोखाका होटलमा वेश्यावृत्ति, एजेन्टमार्फत् बालिकाहरुको ‘सप्लाई’

ग्राहकको रोजाईअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

बालिकाहरुलाई बेश्यावृतिमा संलग्न गराएको अभियोगमा नुवाकोटको तादी गाउँपालिका–६ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका २४ वर्षीय सुमन तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोले आज नियन्त्रणमा लिएको बताइएको छ । 

ब्युरोका अनुसार उनले टोखा नगरपालिका–९, बसपार्कमा रहेका विभिन्न होटल, गेष्ट हाउसहरुमा नाबालिकालाई ललाई फकाई, प्रलोभनमा पारेर वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर बालिकालाई होटल, गेष्ट हाउसमा वेटर तथा सरसफाईको काममा लगाइदिने भनी उनले यस्तो कुकर्म गरेको पनि खुलेको छ । 

तामाङले पीडित बालिकाहरुलाई विगत पाँच महिनादेखि होटल, गेष्ट हाउसबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाउने गरेको प्रहरीले जनाएको छ । त्यसका निम्ति उनले बालिकाहरुलाई एकै लहरमा राखेर ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गर्ने र त्यसवापत आफूले प्रतिव्यक्ति पाँचदेखि सात हजारसम्म लिने गरेको पनि खुलेको छ । 

ग्राहक ल्याउनको लागि एजेन्टसमेत नियुक्त गरेका तामाङले त्यसवापत प्रतिव्यक्ति दुई सयदेखि एक हजार रुपैयाँसम्म कमिसन दिने गरेको तथ्य पनि प्रहरी अनुसन्धानका क्रममा थाहा भएको छ । 

ब्युरोले पीडित चारजना नाबालिकाको उद्धारसमेत गरेको जनाएको छ । साथै, पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

टिप्पणीहरू