फरार भएको १८ दिनपछि समातिए आरतीका श्रीमान

फरार भएको १८ दिनपछि समातिए आरतीका श्रीमान

रहस्यमय तवरले ज्यान गुमाएकी आरतीकुमारी साहका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । १८ दिनदेखि फरार मोतीबाबु साहलाई जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको टोलीले समातेको हो । 

आज बिहान जनकपुरको सीताचोकस्थित होटल सगुनबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पुर्याएर थुनामा पठाइने बताइएको छ । 

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका–९ बस्दै आएकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको भन्दै माइतीपक्ष लामो समयदेखि माइतीघर र रत्नपार्कमा आन्दोलनरत छ । 

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले गत मंसिर २० गते आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि फरार भएका उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

टिप्पणीहरू