५२ वर्षमै निर्वस्त्र कालभैरव

५२ वर्षमै निर्वस्त्र कालभैरव

इतिहास तिनैको लेखिन्छ, जसले रेकर्ड ब्रेक गर्छ । नेपाली साहित्यमा दिल पौडेलले एकपछि अर्काे रेकर्ड ब्रेक गर्दैछन् । दुई वर्षअघि सबैभन्दा बढी हाइकु प्रकाशन गरेर रेकर्ड तोडेका उनै पौडेल ‘निर्वस्त्र कालभैरव’ सार्वजनिक गर्दैछन् । उमेर ५२ लागेकै अवसरमा ५२ कविता निकाल्न लागेका हुन् । भ्रष्टाचार, परिवारवाद, वंशवादको चोटिलो व्यँग्य पढ्न पाइनेछ, निर्वस्त्र कालभैरवमा ।

कविता कृतिमा सरकारी सेवामा हुने ढिलासुस्ती, घुसखोरी, कमिसनखोरहरूलाई समेत व्यंग्य बाण हानिएको छ । देशमा अनेकन तन्त्र फेरिए तर ब्युरोक्रेटको मानसिकता नफेरिएको तथ्यलाई उनले झटारो हानेका हुन् । निजामती सेवाभित्रको विकृतिलाई नजिकबाट नियालेका पौडेलले हाकिमको चाकडी, चाप्लुसी गर्नेको मात्र बढुवा हुने, मालदार अड्डामा सरुवा हुने, टिकिरहने, कासमूका नाममा तिनै माथि पर्ने तथ्यलाई समेत व्यंग्य ठोकेका छन् । सिधै लेख्दा र बोल्दा निजामती ऐन आकर्षित हुने हुँदा कविता, हाइकु, कथाद्वारा ती प्रवृत्तिको भण्डाफोर गरेको हुँ भन्छन् । ५२ कवितामध्ये एउटामात्र रोमान्टिक छ । 

यसअघि ०७८ सालमा ‘ऐलानी घाम’ प्रकाशन गरेर रेकर्ड तोडेका पौडेलले १५१५ वटा हाइकु र ५६३ वटा सेन्र्यु समेटेका थिए । यसअघि ०६२ सालमा प्रजातन्त्र, ०७७ सालमा काउसो जून बजारमा ल्याए । यी तीन कृतिमा गरी २७ सय ५२ वटा हाइकु समावेश छन् । यसअघि स्वर्गीय निर्मलकुमार रिमालले ५ हजार ७६२ वटा हाइकु लेखेर रेकर्ड राखेका थिए । पौडेल नागार्जुन साहित्यिक प्रतिष्ठानको प्रमुख र प्रगतिशील लेखक संघ, जिल्ला कार्यसमिति सिन्धुलीमा पनि सक्रिय छन् । 
 

टिप्पणीहरू