कला मात्रै जान्नुपर्छ, अनेक कर्म छोपिन्छन् यहाँ
पुराना पार्टी कामै नलाग्ने भएकाले नयाँ दल बनाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जन्माएका रवि लामिछानेका एकपछि अर्को झूठ खुल्न थालेका छन् । आफ्नै बेइज्जत हुने घटनामा प्रायः सबै चुपचाप लाग्ने गरे पनि उनी भने यस्तै घटनालाई ‘क्यास’ गर्ने उपाय खोजिरहन्छन् । नागरिकता, पासपोर्ट, श्रम, प्रेस, कर, अध्यागमन कानुन उल्लंघनमा उनले उल्टै मच्चाएको चर्को स्वरबारे त सबैलाई जानकारी नै छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट पीडित लमजुङका सन्तोष रानाभाटले शनिबार पोखरामा भाषण गर्न पुगेका लामिछानेलाई मकैको खोयाले झटारो हान्दा उनले फेरि जवाफमा उस्तै शैली अपनाए । उक्त खोयालाई सजाएर राख्ने अभिव्यक्तिसँगै उनको चलाखी फेरि पुष्ट्याइँ हुन लागेको हो ।
लामिछानेले अहिलेसम्म शब्दमा बाहेक व्यवहारमा पार्टीको नीति र सिद्धान्त स्पष्ट पारेका छैनन्, जनताको निराशाजनक मनस्थितिमा आक्रोश थप्नु र नकारात्मक मनोविज्ञानलाई आफूतिर तान्न खोज्नु टिकाउ सूत्र होइन । लामिछानेले चितवनमा शुरु गरेको नीलो बस कार्यक्रम फन्डा सावित हुन पुगेको छ भने वैदेशिक रोजगारमा गएकालाई फ्रि टिकट दिई फर्काएर काम दिलाउने योजना गफ सावित भएको छ । चितवनमा देखिने गरी के उल्लेखनीय र दिगो काम गरे ? दुर्ई–दुर्ई पटक उनलाई मतदान गर्नेहरूले एकदिन सोध्लान् । लामिछाने गृहमन्त्री भएताका ढुंगा, गिट्टी र बालुवामा गरेको चलखेलले के नतिजा ल्यायो ? अरु पूर्व मन्त्रीलगायतको पिएसओ खोसेर चर्चा कमाउनेले एक महिनामा आफैं भूतपूर्व भएपछि सो सुविधा के गरे ? प्रश्न आफ्नो ठाउँमै छ ।
रास्वपाबाट आफैं मन्त्री हुनुपर्ने, अरुलाई अवसर नदिनेले ‘मिसन ८४’ को नारा लगाइरहँदा सूर्यदर्शन सहकारीले खोलेको ग्यालेक्सी टेलिभिजनको ३ करोड पर्ने गाडी चढेको, सोही सहकारीबाट १ करोड रुपैयाँँ लिएको, १६ प्रतिशत वर्किङ शेयर भन्दै ६ करोड लिएर ५ वर्षसम्म अन्त नजाने सम्झौता तोडेको किस्सा जिबी राईबाहेक अरु कसलाई थाहा होला ? यसरी लामिछाने कथनी र करणीको तुलोमा असन्तुलित देखिएका छन् । त्यसो त लामिछानेले युथ लिडर जन्माउने भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतलाई जुरी राखेर हजारौं युवासँग एक हजारका दरले दर्ता शुल्क उठाई योजना गर्भमै निमोठेको प्रसंगसमेत आलै छ । पाँच तारे होटल हायात र र्याडिसनमा करोडौं रुपैयाँँ बेफ्वाँकमा उडाएर खोलिएको ग्यालेक्सी टिभी आज सैयौं पत्रकारलाई रुवाएर बन्द भएको छ । दुर्ई साताअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा महेश राईले झम्टिए, विगतमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई गोल्चे सार्कीले जुत्ता हाने, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालमाथि आक्रमण हुँदा आक्रमणकारीकै पक्षका वकालत गर्दै खुशीयाली मनाउने लामिछानेले शनिबार पोखरामा आफैँले खोयाको झटारो भेट्दा अर्कै हिसाबले प्रचार गरे ।
हिजो तिनले सुरक्षा पाएकै थिए, आज लामिछानेले पनि सुरक्षा पाएकै छन् । के फरक थियो र ? सहकारी पीडित रानाभाटले समातिए पनि र कुटाइ खाए पनि त्यसको वास्ता गरेनन् । पोखरास्थित सूर्य दर्शन सहकारीको रकमले ग्यालेक्सी टेलिभिजन खोलेर करोडौं रुपैयाँँ अपचलन गर्न क–कसको सहयोग र संलग्नता रह्यो दुनियाँलाई थाहा छ । लामिछानेले सञ्चालन गरेको र काम गरेको ग्यालेक्सी टेलिभिजनको माउ संस्थाका रूपमा गोरखा मिडिया नेटवर्क प्राइभेट लिमिटेड देखिएको छ भने यो कम्पनीसँग पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको बचत ठगी गर्नेहरु प्रत्यक्ष रूपमा जोडिएका छन् । सहकारीको करोडौं रकम अपचलन गरेको आरोपमा ग्यालेक्सी टेलिभिजनका गितेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले खोजेको अवस्था छ । उनै राईसँग मिलेर अध्यक्ष लामिछानेले ग्यालेक्सी टेलिभिजन खोलेका हुन् । अत्यन्तै कलात्मक प्रहसन देखाउन जान्ने लामिछानेले साँच्चै वैकल्पिक पार्टी बन्ने प्रयासमा असल काम थालेका भए कस्तो काइदा हुने थियो भन्ने शुभेच्छुकहरुको अझै पनि यहाँ कमी छैन ।
टिप्पणीहरू