चारधाम नेपालमा कि भारतमा कमरेड ?

चारधाम नेपालमा कि भारतमा कमरेड ?
सुन्नुहोस्

धार्मिक हिसाबले चारधाम भन्नाले बद्रीनाथ, रामेश्वरम्, द्वारका र जगन्नाथ पुरी हो भन्ने मान्यता नेपाल र भारतका धर्मावलम्बीमा छ । तर, चर्चित मध्यपहाडी राजमार्गको यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ती धाम भारतको भएको बताएका छन् ।

मंसिर १६ गते अछामको बैजनाथ पुगेका ओलीले भने, ‘चारधाम भारतका भारतमै होलान्, विश्वका चारधाम नेपालमा छन् पशुपति र मुक्तिनाथ हुन्, वैज्ञनाथ चारधाममा पर्छ कि पर्दैन त्यो मैले अध्ययन गर्नुपर्छ । सो क्रममा उनले स्कन्दपुराण र मानसखण्डमा महाकाली नदीको शिरबारे पनि उल्लेख गरिएको जानकारी दिँदै सीमा विवाद अन्त्य गर्न त्यसले सघाउ पुग्ने बताएका थिए । धार्मिक साहित्यमा यथार्थ कथा हुने गरेको पनि बताए । कतिपय कुरा काल्पनिक भए पनि ठाउँ वैज्ञनाथ, शैलेश्वरी सही छन् । 

अछामबासीले वैज्ञनाथलाई चारधामकै रूपमा राख्नुपर्ने माग गरेपछि ओलीले भारतसित पंगा लिन परम्परादेखि नेपालीले समेत मान्दै आएका चारधामलाई भारतको मात्रै भनेका हुन् कि यथार्थमा नेपालका धार्मिक स्थल नै चार धाम हुन् भन्ने बहस मसिनो ढंगले चलेको छ । अहिले भारतसँग राम्रो सम्बन्ध नभएको मानिएका ओलीले चारधाम भारतको मात्रै भनेको कुराले चर्चा पायो भने भारतका धार्मिक अगुवासमेत चिढिने अनुमान गरिएको छ ।

मध्यपहाडी राजमार्गको यात्रामा रहेका सबै पत्रकार एमालेनिकटकै भएकाले ओलीले चारधाम बारे बोलेका कुरा गतिलो तरिकाले राष्ट्रिय सञ्चारमाध्याममा आएन । तर, ती कुरा बहसमा आउन जरुरी थियो । एमालेका एक स्थानीय नेताको टिप्पणी रह्यो । मध्यपहाडी राजमार्गको यात्रामा किन एमालेले यसपटक मूलधारका मिडियालाई बोकेन भन्ने प्रश्न पनि जताततै उठ्ने गरेको छ ।

तराई क्षेत्रमा हुने यात्रामा भने एमालेले मूलधारका मिडियालाई समेत सामेल गराउँदा सञ्चारमाध्यममा राम्रो स्थान पाउने गरेको थियो । यसैबेला मध्यपहाडी राजमार्गमा बोलाइएन भनेर सामेल नभएका एमाले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल भने अछामका वडावडामा गएर कार्यकर्तालाई भेटिरहेका छन् । उनले आफू एमालेमै रहेको सन्देश दिन खोजेका छन् । एमालेमा रावलविरोधीले उनी एमालेमा सक्रिय नरहेको बताउँदै आएका छन् । रावलनिकट एमालेकै पर्यटन विभागका राष्ट्रिय सदस्य रमेश कुँवरका अनुसार रावलले सम्बोधन गरेका कार्यक्रममा स्थानीय जनताको बाक्लो उपस्थिति रहने गरेको छ ।

टिप्पणीहरू