उपत्यका बन्यो ‘लाजधानी’ : फोहोर, प्रदूषण र खाल्डाखुल्डीबाट सर्वसाधारणलाई हैरानी
काठमाडौं मुलुकको राजधानी मात्रै होइन सबै हिसाबले राज्यको मुटु हो । तर, केही समययता देशको मुटु शिथिल बनेको छ । केन्द्रीय राजधानी ‘लाजधानी’ बन्दै गएको छ । फोहोर, प्रदूषण र अस्तव्यस्त शहर बनेको छ, काठमाडौं । काठमाडौं शहरमा हरियाली देखिन मुश्किल हुन थालेको छ । सडक किनारा र बीचमा रोपिएको रुखविरुवा हेरचाहको अभावमा मर्न थालेका छन् । साँघुरा सडकपेटी, अनियन्त्रित सवारी जाम, झोलिएका तार, होर्डिङ बोर्डले काठमाडौंलाई कुरुप बनाएको छ ।
अधिकांश स्थानका सडकको अवस्था दयनीय छ । सडक खनेर त्यत्तिकै छाड्ने क्रम अझै रोकिएको छैन । यसले सडकमा खाल्डाखुल्डी बन्न पुगेको हो । पैदलयात्री र सवारीधनीलाई खाल्डाखुल्डी सडकमा आवतजावत गर्न महाभारत हुने गरेको छ । मुख्य सडकमा नै खाल्डाखुल्डी धेरै देखिन्छ । टेकू, कालिमाटी, कुलेश्वरका सडकमा प्रशस्तै भ्वाङ छन् ।
काठमाडौं महानगरपालिकाले केही समयअघि तार व्यवस्थापन गर्न थालेको थियो । अव्यवस्थित रुपमा टाँगिएको तारले काठमाडौंलाई कुरुप मात्र हैन, जोखिम पनि निम्त्याएपछि महानगरले नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायकसँग मिलेर तार व्यवस्थापनको कार्य अघि बढाएको थियो ।
महानगरले केही स्थानका तारको व्यवस्थापन गरेको छ । हाल तार व्यवस्थापन कार्य सुस्त देखिएको छ । केबल, टेलिफोन, इन्टरनेट, बिजुलीलगायत तारले शहरको सुन्दरतामा ह्रास ल्याएको छ । गुजुल्टिएका तारको दृश्यले आँखामा बिझाउने गरेको सर्वसाधारण बताउँछन् । नेपाल विद्युत प्राधिकरणले पटकपटक तार भूमिगतको प्रयास गरेपनि सफल हुन सकेको छैन । तारको समस्या काठमाडौंमा मात्र नभई ललितपुर र भक्तपुरमा पनि उस्तै छ ।
अरु सर्वसाधारणझैँ रिता कुँवर सडक, धुँवाधुँलो र अस्तव्यस्त शहरका बाहिर निस्किनै मन नलाग्ने बताउँछन् । भन्छिन्, ‘मलाई त घरबाट निस्किनै मनलाग्दैन । जताततै फोहोर र धुँवाधुँलो छ । मास्क लगाएर पनि बाहिर निस्किन सकिँदैन । गाडीको धुलो त्यस्तै छ । मर्मतको नाममा सर्वसाधारणलाई दुःख दिने कार्य भइरहेको छ । कहिले ढलको लागि बाटो खन्छन् कहिले पानीको पाइप बिच्छ्याउन भन्छन् । योजना बनाएर एकै पटक सबै काम गरिदिए सबैलाई सहज हुने थियो ।’
बानेश्वर बस्दै आएकी अस्मिता मल्ल काठमाडौंका सडकमा चैनले श्वास फेर्दै हिँड्ने दिन कहिले आउँछ ? भन्दै सरकारलाई प्रश्न गर्छिन् । उनी दुर्गन्धका कारण टाउको नै दुख्ने गरेको बताउँछिन् । पैदलयात्रीलाई मुख छोपेर हिँड्नसमेत सकस परेको उनको गुनासो छ । ‘काठमाडौंलाई मुलुकको राजधानी भन्न पनि लाज लाग्ने अवस्था बनिसकेको छ । राजधानी बन्न हुनुपर्ने केही आधारभूत सुविधा केही पनि छैन । काठमाडौं अस्तव्यस्त बन्यो’, उनले भनिन् ।
पार्किङ र बसपार्कको समस्या यथावत्
काठमाडौंमा पार्किङको समस्या यथावत् छ । चाबहिल, बौद्ध, जोरपाटी, सुन्दरीजल, न्युरोड, असनलगायतका क्षेत्रमा फुटपाथमा सवारी पार्किङ गर्ने गरिएको छ । फुटपाथ भरिभराउ हुँदा पैदलयात्री जोखिम मोलेरै बीच सडकबाट हिँड्न बाध्य छन् । यता, जथाभावी पार्किङले शहर कुरुप बनेको छ । महानगरले पार्किङ व्यवस्थापनमा चासो नदेखाएको सर्वसाधारणको गम्भीर आरोप छ ।
पर्याप्त र यथोचित स्थानमा बस बिसौनी नहुँदा जथाभावी यात्रु चढाउने र ओराल्ने कार्य भइरहेको छ । बस जथाभावी रोकेर यात्रु चढाउँदा र झार्दा दुर्घटनाको जोखिम बढेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । गाडी चढ्नका लागि यात्रु विभिन्न ठाउँमा उभिएको देखिन्छ । महानगरले काठमाडौंका विभिन्न स्थानमा २६४ वटा बस बिसौनी निर्माण गर्ने घोषणा गरेको छ । तर, त्यो कार्यान्वयनमा आउँछ कि थन्किन्छ ? अहिले नै भन्न नसकिने अवस्था छ ।
अव्यवस्थित पेट्रोल पम्प
काठमाडौं उपत्यकामा सञ्चालित पेट्रोल पम्प सुरक्षा मापदण्डविपरीत छ । थोरै जग्गामा सञ्चालित पेट्रोल पम्पले ट्राफिक जाम बढाउनुको साथै राजधानीको सुन्दरतामा ह्रास ल्याएको छ । कतिपय पेट्रोल पम्पमा दुईटा चार पाँग्रे अट्न मुश्किल छ । घना बस्तीका बीचमा पेट्रोल पम्पका कारण जोखिम उच्च ढंगले बढेको छ ।
न्यूनतम २० वटा साना–ठूला सवारी साधन पार्क गर्न मिल्ने पाँच सय वर्ग मीटरको पार्किङ एरिया भएको हुनुपर्ने प्रावधान भएपनि कार्यान्वयनमा आउन सकेको छैन । हरियाली कायम गर्न र वातावरण स्वच्छ बनाउन सदाबहार फूलविरुवा तथा साना रुख पेट्रोल पम्प वरपर रोप्नुपर्ने नियम भएपनि हालसम्म लागु भएको देखिँदैन ।
थोत्रा सवारीको प्रदूषण
वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथ्य घामजस्तै छर्लङ्ग छ । विश्वका प्रदूषित र फोहोर शहरमा काठमाडौं पनि पर्ने गर्दछ । प्रदूषणको प्रमुख कारण हो, थोत्रा पूराना सवारी साधन । २० वर्ष कटेका सवारीले व्यापक वायु प्रदूषण गरिरहेको छ । कालो धुँवाको मुस्लो फँयाकेर सवारी साधन गुडिरहेको छ । धुँवाका कारणले सर्वसाधारणलाई घरबाट निस्किन मुश्किल छ । मास्क लगाउँदासमेत श्वासप्रश्वासमा समस्या पर्ने गरेको स्थानीय बताउँछन् ।
अव्यवस्थित सुकुम्बासी
काठमाडौंमा सुकुम्बासी बस्ती ‘नटुंगिने यात्रा’ जस्तै भएको छ । महानगरले पटकपटक सुकुम्बासी बस्ती हटाउन प्रयास गरिसकेको छ तर हरेकपटक असफल बनेको छ । थापाथली नदी किनार सुकुम्बासीको मुख्य थलो हो । नदी किनार मिचेर निर्माण गरिएका घरटहराका कारण पैदलयात्रीसँगै सवारी धनी पनि समस्यामा पर्ने गरेका छन् । सुकुम्बासीले गर्दा नदीनाला थप प्रदूषित बनेको छ ।
महानगरले यसअघि पटक पटक सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको थियो । हाल महानगर आफैं ‘ब्याक’ हटेको अवस्था छ । यता, प्रतिनिधि सभाको विकास तथा पूर्वाधार समितिले बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । गत असार २० गते छ महिनाको अवधि दिइएकोमा हालसम्म पनि प्रगति शून्य छ ।
महानगरका प्रवक्ता नवीन मानन्धर काठमाडौंलाई सफासुग्घर र सुन्दर शहर बनाउन थुप्रै काम भइरहेको बताउँछन् । विरुवा रोप्नेदेखि तार व्यवस्थापनको कार्य जारी रहेको उनले जानकारी दिए । सुकुम्बासीको हकमा अदालतले व्यवस्थापन गरेर मात्र हटाउनु भनेकाले केही समय लाग्ने उनको भनाई छ ।
ललितपुर र भक्तपुरको अवस्था पनि उस्तै
ललितपुर र भक्तपुरको अवस्था पनि त्यस्तै छ । कुपण्डोलस्थित कानुन व्यवसायीहरुको अभिभावकत्व गर्ने संस्था ‘नेपाल बार काउन्सिल’ को अगाडिको सडकमा हिँड्न सक्ने अवस्था छैन । सडकभर ठूल्ठूला खाल्डाखुल्डी छन् । कालोपत्रे उप्किएर जता टेक्यो, त्यतै धुलो उड्छ । त्यहाँबाट हिँड्दा कपडामा धुलैधुलो हुने गरेको स्थानीय बताउँछन् ।
भक्तपुर, सल्लाघारीका सडकको अवस्था पनि उस्तै नाजुक छ । सडकमा खाल्डाखुल्डी बाहेक केही देखिँदैन । राधेराधे, मध्यपुर थिमीको सडक पनि दयनीय अवस्थामा छ । सल्लाघारीमा रहेको बस बिसौनी ढलेको एक सातापछि मात्रै सूर्यविनायक नगरपालिकाका नगर प्रहरीले उठाएका हुन् ।
टिप्पणीहरू