सुरक्षाकर्मीले संयम गुमाउँदा सर्वसाधारणको जीवन अन्त्य

सुरक्षाकर्मीले संयम गुमाउँदा सर्वसाधारणको जीवन अन्त्य

अघिल्लो शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दुई युवकको ज्यान गयो । दक्षिण कोरियामा पानी जहाज निर्माणका लागि लिइएको (सिप बिल्डिङ) परीक्षामा अनुत्तीर्ण भएपछि उनीहरु उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । 

आन्दोलित युवाहरुले पुस १३ गते मध्यान्ह बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी गरे । त्यसपछि आन्दोलनकारी र प्रहरीबीच भिडन्त भयो । स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको प्रहरीको भनाई छ । एक छिनपछि दैलेखका २३ वर्षीय सुजन राउत सडकमा ढलेको अवस्थामा भेटिएका थिए । 

बेहोस अवस्थाका उनलाई तत्काल नजिकैको किष्ट अस्पताल लगियो तर बचाउन सकिएन । प्रहरीले बन्दुकको कुन्जाले छातीमा हान्दा उनको मृत्यु भएको बताइन्छ । त्यस्तै, अर्का युवक वीरेन्द्र शाहको प्रहरीको गोली लागेर ज्यान गयो । अछामका वीरेन्द्रको पेटको तल्लो भागमा गोली लागेको थियो । अत्यधिक रक्तश्रावको अवस्थामा उनलाई पाटन अस्पताल लगियो, तर उपचारको क्रममा ज्यान गयो । 

उक्त घटनापछि गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमेश लम्साल, मन्त्री ज्वालाका पिएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवार, ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ । त्यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय, नक्साल लगिएको छ । 

गत मंसिर २७ गते बाराको सिम्रौनगढ नगरपालिकामा दिउँसै गोली चल्यो । नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एक समूहले अवरोध गरेपछि विवाद भएको थियो । विवादका क्रममा झडप भएपछि प्रहरी परिचालन गरियो । 

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली रामसागराघाटका लक्ष्मी मुखियाको टाउकोमा लाग्यो । तत्काल अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । पुस ५ गते धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासमा भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गर्दा सोही स्थानका ३६ वर्षीय शिवशंकर मण्डलको दाहिने हातको नाडीमा र १८ वर्षीय मसलुम अन्सारीको बायाँ हातको पाखुरामा गोली लागेको थियो ।

उक्त घटनापछि प्रहरी मुख्यालयले सम्पूर्ण प्रहरी कार्यालयलाई भीड नियन्त्रणको क्रममा चनाखो रहन निर्देशन दिएको छ । मुख्यालयले तालिमप्राप्त प्रहरी कर्मचारीको मानसिक अवस्था हेरेर मात्रै हतियार बोक्न दिन, भीड नियन्त्रण गर्दा न्यूनतम बलको प्रयोग गर्न र जनधनको क्षति हुन नदिन भन्दै सम्पूर्ण कार्यालय प्रमुखलाई सचेत गराएको छ । त्यस्तै, भीड नियन्त्रणमा खटिनुपूर्व नै प्रहरीलाई हतियार चलाउनुपर्ने अवस्थाबारे स्पष्ट रुपमा जानकारी गराउन भनिएको छ । 

पछिल्लो समय प्रहरीले भीड नियन्त्रणको क्रममा अत्यधिक बल प्रयोग गर्ने गरेको पाइन्छ । भीडलाई शान्त बनाउन खटाइएका प्रहरी आफैं उत्तेजित हुँदा प्रदर्शनकारीहरु झनै उग्र हुने गरेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को परिच्छेद ३ को दफा ६ मा शान्तिसुरक्षा कायम गर्नेबारे उल्लेख छ । सो दफाको उपदफा १ मा प्रमुख जिल्ला अधिकारीले कुनै हिंसात्मक कामकारबाही हुने वा हुलदंगा हुने देखेमा प्रहरीको मद्दतमा शान्ति सुरक्षा कायम गर्न सक्ने लेखिएको छ । 

उपदफाको खण्ड (क) मा भनिएको छ, ‘कुनै सभा जुलुस वा भीडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिई त्यसको कुनै काम कारबाहीबाट शान्ति भंग हुने सम्भावना देखिएमा प्रहरीद्वारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेकोमा सम्बन्धित ठाउँमा तुरुन्तै आफैं गई वा आफू मातहतका अधिकृतलाई पठाई सकेमा सम्झाई शान्ति कायम गराउने र नसकेमा प्रहरीको मद्दतले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायरसमेत आवश्यकता र परिस्थितिअनुसार जो गर्नुपर्ने बल प्रयोग गरी शान्ति कायम गर्ने गराउने ।’

त्यसो गरेर शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनुपर्ने आवश्यकता परेमा भीडले स्पष्टसँग बुझ्नेगरी गोली चलाउने चेतावनी दिने र त्यति गर्दा पनि नमानेमा घुँडामुनि पारेर गोली चलाउनका निमित्त आदेश लेखी सही गरेर दिनुपर्ने प्रावधान छ । ऐनमा आन्दोलनस्थलमा सिडियो वा मातहतका अधिकृत जानुपर्ने र आन्दोलनकारीलाई सम्झाउनुपर्ने उल्लेख भएपनि उनीहरु गएको देखिँदैन । यता, प्रहरीले भीड नियन्त्रणमा लिन सबैभन्दा अगाडि बलकै प्रयोग गर्दछ । 

कानुनी मर्यादाको ख्याल नगरी प्रहरीले मनोमानी कारबाही गर्दा आन्दोलनकारीको ज्यान जानेसम्मको घटना हुने गरेको छ । प्रहरीले हवाईफायर गर्दा जनधनको क्षति हुनबाट बचाउन सुरक्षित दिशातर्फ हवाई फायर गर्नुपर्ने हुन्छ । तर, त्यसलाई बेवास्ता गर्दै  भीडमा भएका आन्दोलनकारीलाई लक्षित गरेर हवाई फायर गरिन्छ । घुँडामूनि गोली चलाउनुपर्नेमा टाउकोमा, पेटमा गोली प्रहार गर्दा आन्दोलनकारीको ज्यान जाने गरेको छ । भीडलाई अड्याउने, संयमित बनाउने क्षमता नेपाल प्रहरीसँग छैन । 

उल्टै प्रहरी नै आन्दोलनकारीसँग घम्साघम्सी खेल्ने गर्दछन् । मानव अधिकारकर्मीहरु प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोगबाहेक कुनै अर्को उपाय नै नअप्नाउने बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत आन्दोलनकारीमाथि बल प्रयोग गर्नु रहर नभई बाध्यता भएको बताउँछन् । माइकिङ र सम्झाईबुझाई गरेर पनि नटेरेपछि बल प्रयोग गरिने उनको भनाई छ । 

उनले भने, ‘बल प्रयोगको एउटा सिद्धान्त छ । सिडियोले आदेश दिएपछि हामीले बल प्रयोग गर्ने हो । गोली घुँडामूनि हान्ने प्रावधान भएपनि प्रहरी प्रेसरमा हुन्छन् । भागिरहेको बेला गोली कहाँ लाग्छ भन्न सकिँदैन् । प्रहरीले रहर लागेर गोली हान्ने होइन् । झडपको क्रममा प्रहरी आफैं घाइते भएका हुन्छन् ।’ भीड नियन्त्रणमा लिनका लागि प्रहरीले लाठीचार्ज, हवाई फायर, अश्रुग्याँस, पानीको फोहोरा, रबर बुलेटलगायतका हातहतियारको प्रयोग गर्ने उनले जानकारी दिए । 

कमाण्डरको कमजोरी

भीडलाई कसरी नियन्त्रणमा लिने भन्ने कुरा कमाण्डरमा भर पर्छ । कमाण्डर संयमित भएमा जनधनको क्षति हुनेसम्मको अवस्था नै आउँदैन । शान्तिपूर्ण आन्दोलनमा समेत प्रहरीले बल प्रयोग गर्दै आएको छ । जसका कारण भीड झनै उत्तेजित हुने गर्दछ । शक्ति प्रयोग गर्दा कतिसम्म र कसरी गर्ने ? भनेर कमाण्डरले भीड नियन्त्रणमा खटिनुपूर्व पर्याप्त ब्रिफिङ गरेको पाइँदैन । 

प्रहरी मुख्यालयले कडाइका साथ भीड नियन्त्रणमा खटिनुपूर्व प्रहरी कर्मचारीहरुलाई आवश्यक ब्रिफिङ गर्न निर्देशन दिएको छ । ‘भीड नियन्त्रणमा खटिदाँ कमाण्डरले खटिनुपूर्व प्रहरी कर्मचारीहरुलाई पर्याप्त ब्रिफिङ्ग गरी कसले कुन हतियार कसरी कस्तो अवस्थामा चलाउने भनि स्पष्ट निर्देशन दिनका साथै सम्बन्धित हात–हतियार तालिम प्राप्त प्रहरी कर्मचारीलाई निजको मानसिक अवस्था हेरि बोक्न दिने, भीड नियन्त्रण गर्दा न्यूनतम बल प्रयोग गरी जनधनको क्षति हुन नदिने...’, मुख्यालयको पत्रमा उल्लेख छ । 

राज्य जिम्मेवार हुनुपर्छ : आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डा.टीकाराम पोखरेल आन्दोलनको क्रममा प्रहरीले अत्याधिक बल प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको बताउँछन् । आन्दोलनकारीले ढुंगा हाने अनि हामीले पनि हान्यौं भन्न नपाउने उनले तर्क छ । उनी भन्छन्, ‘राज्य नागरिकको अभिभावक हो । अभिभावक जहिलेपनि ठूलो हुन्छ । प्रदर्शन गर्दा प्रदर्शनकारीहरु पनि अलि उग्र नै हुन्छन् । तर, बल प्रयोग गर्ने पनि एउटा हद हुन्छ । नागरिक संयमित भएनन् भनेर राज्यले आफ्नो संयमितता गुमाउन भएन । नागरिकले उताबाट ढुंगा हाने र हामीले यताबाट हान्यौं भनेर राज्य उम्किन पाउँदैन ।’

टिप्पणीहरू