सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने

सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने
सुन्नुहोस्

किशोरी बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ ।

आज न्यायाधीश शिशिरराज ढकालको इजलासले सो सजाय तोकेको हो । अदालतले सन्दीपबाट पीडित किशोरीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । 

सन्दीपविरुद्धको मुद्दामा ढकालकै इजलासले पुस १३ गते दोषी ठहर गरेको थियो । फैसलामा उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको उल्लेख छ ।

यसैबीच फैसला चित्तबुझ्दो नभएको भन्दै सन्दीप उच्च अदालत जाने भएका छन् । उनका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले सन्दीप दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जाने बताएका हुन् । 

आज बहसका क्रममा उनले सन्दीपलाई न्यूनतम सजाय तोक्नुपर्ने माग गर्दै न्यायका लागि उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्क गरेका थिए । जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा भाग लिएको अधिवक्ता घिमिरेको भनाई थियो ।

उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा सन्दीपविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

तर, २०७९ पुस २८ गते उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाएपछि उनी रिहा भएका थिए । शर्तसहित २० लाख धरौटीमा छाड्ने उच्चको उक्त आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउन फागुन १५ गते जिल्ला अदालतलाई आदेश दिएको थियो ।

टिप्पणीहरू