रामबहादुर बमजनलाई सडकमार्गबाट रातारात सर्लाही पुर्याइयो

रामबहादुर बमजनलाई सडकमार्गबाट रातारात  सर्लाही पुर्याइयो
सुन्नुहोस्

विवादास्पद तपस्वी रामबहादुर बमजनलाई मध्यरात सर्लाही पुर्याइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई गएराति साढे १२ बजे जिल्ला प्रहरी कार्यालय,सर्लाहीको जिम्मा लगाएको छ ।

अस्ति साँझ काठमाडौंको बूढानीलकण्ठ नजिकै हात्तिगौडाको आलिशान भवनमा फेला परेका उनलाई ब्यूरोले हिजो दिउँसो सार्वजनिक गरेको थियो । उनीसँगै तीन करोडभन्दा बढी नेपाली र विदेशी मुद्रा,महँगो सवारी साधन,१५ थान मोबाइल,चार थान आइप्याडसँगै समातिएका उनलाई हिजो साँझ साढे ५ बजे काठमाडौंबाट हवाई उडानमा जनकपुर हुँदै त्यता लैजाने तयारी थियो ।

बमजनलाई सुरक्षाकर्मीले विमानस्थल पुर्याए पनि खराब मौसमका कारण कुनै पनि उडान हुन नसकेपछि राति बिपी राजमार्ग हुँदै सर्लाही पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई आज बिहान ११ बजे जिल्ला अदालतमा पेश गर्ने कार्यक्रम छ ।

बमजनमाथि सर्लाहीकी २९ वर्षीया रिता बोटेलाई बेपत्ता पारेको किटानी जाहेरी परेको छ । रिताकी आमा सुम्नीले २०७५ पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

लिटिल बुद्धको नामले प्रचारित उनीमाथि अन्य केही हत्या,यौन शोषण र व्यक्ति बेपत्ताको आरोप लागेको छ । त्यसैगरी स्रोत नखुलेका सम्पत्तिविरुद्ध पनि मुद्दा चलाउने प्रहरीको तयारी छ ।

टिप्पणीहरू