टिआरसी टुंग्याउन अब ढिला नगर्ने, प्रक्रियामा लैजान सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै प्रधानमन्त्रीकालमा टुंग्याउन चाहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधयेक संसद्को आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्नुपर्नेमा सत्ता साझेदार नेपाली काँग्रेसका एक नेताले जोड दिएका छन् ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा विचाराधीन विधेयक आगामी अधिवेशनको पहिलो दिन नै पेश गर्नुपर्ने बताएका हुन् । आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दलीय सहमति जुटाएर विधेयक टुंग्याउन अब ढिला गर्न नहुने बताए ।
पीडितहरुले अब धैयर्ता गर्न नसकिने भनिरहेकाले संसद सञ्चालन हुनु पहिला नै सहमति जुटाएर संसदमा पेश गर्न आवश्यक रहेको उनको तर्क छ । लेखकले पीडितमैत्री हुनेगरी विधेयक पारित गर्नुपर्ने पनि उल्लेख गरे ।
उनले भने,‘इन्टरनेशनल कम्युनिटीको कुरा गर्दा भेट भयो की ट्रान्जिसनल जस्टिस कहिले टुंग्याउने भन्छ, झुटो कति बोल्नु ? १७ वर्षसम्म भएन । अब जसरी हुन्छ यसलाई हप्ता-१० दिनमा सहमतिमा टुंग्याऔँ ।’
आजको बैठकमा एमाले सचेतक महेश बर्तौला र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले विधेयकमा सहमति नभएका विषयलाई बहुमतबाट भएपनि टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।
अहिले विधेयकमाथि संसदीय समितिमा दफावार छलफल भैरहेको छ ।
टिप्पणीहरू