छोरीलाई फिल्मी लाइनमा छिराउन

छोरीलाई फिल्मी लाइनमा छिराउन
सुन्नुहोस्

पुराना सेलिब्रिटीलाई निर्माता, निर्देशकले पत्याउन छाडिहाले । साना तथा ठूला पर्दामा काम पाउन छाडेपछि आफैँ लगानी गरेर भए पनि रहर त पूरा गर्नै पर्‍यो । केही नपाए आफ्नै युट्युब च्यानलमा भए पनि देखिनै पर्‍यो । 

झरना थापा, करिष्मा मानन्धर, भुवन केसी, नारायण पुरी, टीका पहारी, सोभित बस्नेतहरूको पदचाप पछ्याउँदै छन् राजाराम बुढाथोकी । यसअघिका पुराना कलाकारले धमाधम तिनलाई लगानी गर्न लगाउने, फिल्म बनाउने, सन्तानलाई नायक वा नायिकाका रूपमा खेलाउँदै आएकोमा पुराना कलाकारको पाइला पछ्याउँदै राजाराम बुढाथोकी छोरीका लागि सिनेमा बनाउन तम्सिएका हुन् । 

दीपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको ‘पर्खी बसें तिमीलाई’ मा राजारामले छोरी रक्षालाई हिरोइन बनाउन लगानी गरेका हुन् । किरण श्रेष्ठ र रक्षा बुढाथोकीले मुख्य भूमिकामा काम गरेका छन् । रक्षाका पिता राजाराम बुढाथोकी निर्माता हुन् । रक्षाले यसअघि ‘लाखे’मा सहायक अभिनेत्रीको रूपमा काम गरिसकेकी छन् । यसअघि नायिका करिष्मा मानन्धरले उसैगरी छोरीका लागि फिल्ममा लगानी गरेकी थिइन् ।

कुनै समयको हिट अभिनेत्री करिष्माका एकपछि अर्का चलचित्रले निरन्तर हावा खान थालेसँगै करियरलाई बिट मारेर नेपाल छाडिन् । लामो समयपछि नेपाल फर्किएकी उनले ‘फागु’ बनाइन् । छोरी कवितालाई आफ्नै लगानीमा ‘बनबास’ फिल्म निर्माण गरेर नायिका बनाइन् । यसअघि झरना थापाले ‘ए मेरो हजुर’ सिक्वेलमा छोरी सुहानीलाई नायिका बनाएकी थिइन् । झरना निर्देशक, सुनिल निर्माता भएर छोरीका लागि ‘ए मेरो हजुर’ बनाएका हुन् ।

भुवन केसीले छोरा अनमोललाई लिएर पारस द अनलक्की म्यान निर्माण गरे । यस्तै, टीका पहारीले छोरा गौरवका लागि सिनेमा बनाए । यस्तै, छोरा सलोन बस्नेतका लागि सोभितले चलचित्र निर्माण गरे । नारायण पुरी निर्देशक रहेको आगोमा छोरा संयमलाई हिरो बनाए । बुवा निर्माता, आमा निर्देशक र छोरा छोरीलाई नायक वा नायिकाको भूमिका दिएर बनाइएका चलचित्र अधिकांश सुपर फ्लपको सूचीमा दर्ज भएका छन् । 
 

टिप्पणीहरू