बाह्र करोड एक्लै उनको बाकसमा ?

बाह्र करोड एक्लै उनको बाकसमा ?
सुन्नुहोस्

हातमा करोडौंको बिटा आएपछि एउटी निर्मात्रीले निर्देशक चिन्न छाडेको चर्चा छ, सिने नगरीमा । एक÷दुई करोड होइन १२ करोड ग्रस कलेक्सन गरेको चलचित्र बोक्सीको घरकी निर्मात्रीको कुरा हो यो । 

वैशाख १४ गते रिलिज भएको उक्त फिल्मले लगानीकर्ता तथा अभिनेत्री केकी अधिकारीका अनुसार १२ करोडभन्दा बढी कमाएको छ । स्टारमा नभई स्क्रिप्टमा गरेको लगानीकै कारण राम्रो नाफा आर्जन गर्न सफल भइरहेको चर्चा र परिचर्चा भइरहँदा उनै केकीबाट निर्देशक र क्रु मेम्बरहरू पीडित बनेको आरोप छ । उसो त ‘बोक्सीको घर’ एउटा स्टारकास्ट बिना पनि चल्न सफल सिनेमा हो ।

चलचित्र निर्मात्रीले राम्रो आम्दानी गरेपछि कमसेकम निर्देशक सुलक्षण भारतीलाई सहमतिअनुसारको पारिश्रमिक दिनुपथ्र्यो । तर जिल्लै पारिदिइन् । बोक्सीको घरलाई हिट बनाउन मुख्य भूमिका खेल्ने पात्र नै निर्देशक भारती हुन् । उनले नौ वर्षअघि बोक्सीको घर नाटक लेखेका थिए । ०७३ मा निर्देशन गरेर मण्डला थियटरमा नाटक प्रस्तुत गरे । सरिता गिरीको एकल अभिनय थियो, त्यतिबेला । नाटक चल्दै गर्दा अभिनेत्री केकी पनि संयोगले मण्डला पुगेकी थिइन् । उनले नाटक मन पराइन् । र, केही समयपछि केकीले चलचित्र बनाउन प्रस्ताव गर्दै प्रर्सेन्टेजमा सहमति गरिन् ।

शुरुमा आनाकानी भयो । किनकी, उनी थियटर कलाकार भएको कारण नाटकको सेन्स चलचित्रमा मर्ने हो कि भन्ने लागेको थियो । ‘तर केकीजीले आफै लगानी गर्न लागेको हुँ, पर्सेन्टेजमा गरौं भनेपछि नाटक दिन तयार भएँ’, सुलक्षण भन्छन् । चलचित्रको पुरा छायांकन ७० लाखमा सकियो । त्यसअघि चार÷पाँच महिनाको वर्कशपमा लाग्ने खर्च सुलक्षणले आफ्नै गोजीबाट तिरे । खैर, चलचित्र तयार भएर प्रदर्शन भएपछि राम्रो आम्दानी गर्‍यो । चलचित्रकर्मीले सुलक्षणको डेब्यु निर्देशनको खुलेर प्रशंसा गरे । उनको कथाले मौलिकताको संज्ञा पायो । तर उता केकी भने विभिन्न मिडियामा चलचित्र हिट हुनुको श्रेय आफैलाई दिन थालेकी छिन् । शीर्ष भूमिकामा उनी भएकाले केही हदसम्म त्यो सही पनि हो तर कहींकतै सुलक्षणलाई श्रेय दिइएको छैन । 

चलचित्र प्रदर्शन भएको हप्तादिनसम्म केकी र सुलक्षणको सम्बन्ध राम्रै थियो । त्यसपछि भने सुलक्षण ‘चाहिँदाको भाँडो, नचाहिँदाको घाँडो’ हुन थाले । चलचित्रले राम्रो आम्दानी गर्दै गएपछि उनले सुलक्षणको फोन नै उठाउन छाडिन् । विदेशका प्रिमियरमा एक्लै गइन् । 

त्यसो त, केकीले डेढ दशकको करिअरमा निर्देशक सुलक्षणकै कारण पहिलोपल्ट एउटै १२ करोडको स्वाद चाखिन् । लगानी, करबाहेक पनि उनको हातमा ८÷९ करोड परेको स्पष्ट देखिन्छ । तर उनैले दिनुपर्ने पैसासमेत दिएकी छैनन् । केकीले केही क्रू मेम्बरको पैसा पनि अझै नदिएको बताइएको छ ।

सुलक्षण चलचित्र क्षेत्रमा बलियो सम्भावना भएका निर्देशक हुन् । उनीजस्ता नयाँ निर्देशकलाई पुराना कलाकारले प्रोत्साहन गर्ने हो, न कि पाखा लगाउन खोज्ने होइन । अलिकति पैसा कमाउनेबित्तिकै ‘मान्छे नचिन्ने’ रोगले ग्रसित हुने हो भने, कुनै दिन नेपाली चलचित्रमा सिर्जना होइन, रत्यौली हावी हुन्छ । केकीजस्ती बौद्धिक छविकी नायिकाले यो कुरा नबुझेको पक्कै होइन होला तर भनिन्छ नि, निदाएको मान्छेलाई पो ब्युँझाउन सकिन्छ, नक्कल गर्नेलाई बुझाउन कठिन छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू