कानको काम, पहिले आँखा छाम

कानको काम, पहिले आँखा छाम
सुन्नुहोस्

जमाना कस्तो आयो भने आँखाको काम कानले, कानको काम आँखाले गर्नुपर्ने । अहिले नेपाली कलाकारिता र राजनीतिमा यस्तै साँटफेर धन्दा चलिरहेको छ । 

कलाकार देश चलाउन तम्सिएका छन्, अनि देश चलाएर अनुभव बटुलेकादेखि सिक्दै गरेका माननीय र नेताहरूचाहिँ फिल्मको पर्दामा देखिने रहर गर्दै छन् । प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले सिनेमाको पर्दामा देखिने रहर गरिरहँदा कलाकारिताबाटै राजनीतिमा होमिएका रोज रानाले शेरबहादुर देउवा र आरजु राणाहरूको फेरो समाउँदै लुम्बिनी प्रदेशमा दुई–दुई पटक मन्त्री खाइसकेका छन् । बालकोटको माया पाएर ‘पोइल जाने’ गायिका कोमल वली कमरेड मात्र बनिनन् एक कार्यकाल सांसद नै बनिन् । ०७३ मा राप्रपा हुँदै एमाले प्रवेश गरेर राष्ट्रिय सभा सांसद भइन् । यसरी राना, वली मात्र होइन राजनीतितिर ‘युटर्न’ हुनेमा रेखा थापा, करिष्मा मानन्धर, मनोज पण्डितसम्म छन् ।

करिष्मा एमाले हुनुअघि बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमार्फत राजनीति प्रारम्भ गरेकी थिइन् । अब्बल निर्देशकका रूपमा चिनिएका मनोज पण्डित काभ्रेबाट स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका व्यक्ति हुन् । नीर शाह, उद्धव पौडेल, राजाको प्रत्यक्ष शासनकालमा काभ्रेमा मेयर चलाएका रवीन्द्र खड्का, स्थानीय निर्वाचनमा उठेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, कांग्रेस राजनीतिमा होमिएका तीर्थ थापादेखि बद्री पंगेनी, दिनेश डिसी, चेतन सापकोटा, सुभाष गजुरेल, कमेडीबाट उदाएका हिमेश पन्त, ‘सिते बा’ भनेर चिनिने मधुसूदन पाठकलगायत धेरै कलाकार राजनीतिमा छन् । एमालेको राजनीतिमा लागेका भुवन केसी कांग्रेसबाट एक कार्यकाल चलचित्र विकास बोर्डको अध्यक्ष चलाएर हालै बाहिरिएका छन् । 

यसबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल फिल्मको पर्दामा देखिँदै छन् । ओलीको उक्त रहर भने यसपटक रमित ढुंगानाले पूरा गर्दै छन् । भदौ ७ मा प्रदर्शन गर्ने तोकिएको ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसम्मको अभिनय देख्न पाइनेछ । ओलीले यसअगाडि नै रातो सूर्य नामक फिल्ममा समेत अभिनय गरिसकेका छन् । रमित यी दुवै नेता प्रधानमन्त्री हुँदा एसिड आक्रमणका घटनाविरुद्ध लिएको निर्णयकै कारण चलचित्रमा समेटिएको बताउँछन् ।

यो चलचित्रमा माओवादी नेता देवेन्द्र पौडेलदेखि ज्ञानेन्द्र शाहीसम्म देखिनेछन् । यी मात्र होइन, धरानका मेयर हर्क साम्पाङ चलचित्र ‘खजुरे ब्रो’मा देखिँदै छन् । यसअघि आफ्नै कथामा आधारित मेयर चलचित्र बनाउन तम्सिएका बाग्मती नगरपालिकाका भरत थापा अख्तियार लागेर निलम्बनमा छन् । कुनै समय देशै बनाउने भनेर हिँडेका धुर्मुस सुन्तली चितवनको रंगशाला विवादमा मुछिएपछि ‘मुटुको काम कलेजोले र कलेजोको काम मुटुले गर्न सक्दैन’ रहेछ भन्ने निश्कर्षसहित पुरानै कलाकारितामा फर्किएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू