मन्त्रीलाई यस्तरी सिकाइयो कि राजनीति

मन्त्रीलाई यस्तरी सिकाइयो कि राजनीति

मन्त्री र कुलपतिको दोहोरी हेर्नलायक देखियो गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा । प्रज्ञा प्रतिष्ठान, संगीत नाट्य र ललितकलाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि थिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे । ‘प्राज्ञिक सम्मिलन’ नाम दिइएको उक्त कार्यक्रममा मन्त्रीले प्रज्ञा प्रतिष्ठानमा बसेर राजनीति नगर्न सल्लाह दिँदा कुलपति भुपाल राईले राजनीति कस्तो हुनुपर्छ त्यो प्राज्ञहरूले तय गर्ने जवाफ फर्काइदिए । 

एकाएक मुलुकको राजनीतिक कोर्स बदलिएसँगै पूर्व सरकारका पालामा प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति पाएकाहरूको मनस्थिति हलचल हुनु स्वाभाविकै हो । ऐनले चार वर्षका लागि नियुक्ति ढुक्क बनाइदिए पनि तत्कालीन पुष्पकमल दाहाल सरकारले गरेको त्रुटिपूर्ण नियुक्ति खारेजीको मुद्दा अदालतमा विचाराधीन छ । उक्त कार्यक्रममा नवनियुक्त मन्त्री बद्री पाण्डेले भने, ‘प्राज्ञहरूको काम प्राज्ञिक कर्म गर्ने हो, राजनीति गर्ने होइन । म तपाईंहरूलाई प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञिक काम गर्न सल्लाह दिन्छु ।’

कुलपति भूपाल राईले आफ्नो पालो आएपछि जवाफ फर्काए, ‘प्राज्ञहरूले संस्कृतिका माध्यमबाट राजनीति गर्ने हो । राजनीति कस्तो हुनुपर्छ भनेर प्राज्ञहरूले तय गर्ने हो । तसर्थ प्राज्ञहरूले राजनीति गर्नु मनासिव हो ।’ 

कार्यक्रमको शीर्षक ‘प्राज्ञिक सम्मिलन’ भनिए पनि शीर्षकअनुसारको कुनै कार्यक्रम भने भएको पाइएन । कुलपतिले मन्त्रीको स्वागत गर्नु अर्को उद्देश्य रहेको बताए पनि यसअघिका कुनै मन्त्रीलाई यसरी स्वागत गरिएको थिएन । यता यो कार्यक्रमको आयोजकसमेत रहेको सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले भने उक्त कार्यक्रम बहिष्कार गरिन् । 

कार्यक्रममा कुलपति शर्मा अनुपस्थित भएको विषयमा बेलुकी सात बजेसम्म पनि उपकुलपति शम्भु राई र सदस्य–सचिव कुस्मा महराबीच खासखुस चलिरहेको थियो । माओवादी सरकारद्वारा नियुक्ति पाए पनि तत्कालीन मन्त्री सुदन किरातीले सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको जग्गा निजी कम्पनीलाई लिजमा दिन दबाब दिएका थिए । नदिए कुलपति पद खाइदिने तथा मन्त्रालयमा तानिदिनेसमेत धम्की दिएका थिए । कुलपति शर्माले किरातीको धम्कीलाई ठाडै अस्वीकार गरेकी थिइन् । त्यसपछि माओवादीहरू कुलपति शर्माविरुद्ध लागेको गाइँगुइँ छ ।
 

टिप्पणीहरू