माग्नेलाई ‘भीख’, आइमाई भनिनु नै बिख

माग्नेलाई ‘भीख’, आइमाई भनिनु नै बिख

कमलादीबाटै शुरु भएको स्रष्टा अपमानको श्रृंखला धरान पुग्दा पनि रोकिएन । वरिष्ठ साहित्यकार रोचक घिमिरेको दिल दुखाएको एकेडेमीले धरान पुगेर एउटी महिला साहित्यकारलाई अपमान गरेको घटनाले अहिले साहित्यिक बजार तातेको छ ।

केही अघि मात्र प्रज्ञा प्रतिष्ठानले ५० हजार राशीको प्रज्ञा पुरस्कारबाट वरिष्ठ साहित्यकार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई सम्मानित गर्‍यो  । तर, सम्मानपत्रमा प्रयुक्त भाषाप्रति रोचक घिमिरेले चित्त दुखाए । सुनुवाइ भएन ।

सम्मानपत्रमा पुरस्कार प्रदान गरिएको छ भन्ने भाषा प्रयोग गरिएको छ । रोचकको आपत्ति थियो, यो त माग्नेलाई झैं दिने कुरा भयो । अर्पण वा समर्पण शब्द प्रयोग गर्नुहोस् । रोचकले यसअघिका उदाहरण पेश गरे तर कुलपति भुपाल राईले प्रज्ञाले प्रदान नै गर्ने हो समर्पण÷अर्पण गर्दैन भने । कार्यक्रममै उपस्थित साहित्यकारहरू चाहिँ ‘अपमानवोध भएको भए रोचकले उक्त पुरस्कार हुत्याएर हिँडेको भए साख बच्थ्यो’ भन्दै थिए । 

हप्तैपिच्छे पुरस्कार बाँड्ने एकेडेमीले वरिष्ठ साहित्यकारलाई मात्र अपमान गरेन । कुलपति, उपकुपति, सदस्यसचिवहरूमाथि महिला स्रष्टालाई होच्याउनेकै संरक्षण गरेको आरोप लागेको छ । प्रसंग हो, अन्तर्राष्ट्रिय मातृभाषा दिवसको छेको पारेर धरानमा आयोजित कार्यक्रमको । एकेडेमीले पाँच लाखभन्दा बढी रकम खर्चेको बताइन्छ उक्त कार्यक्रमका लागि । विगतमा यी र यस्ता पुरस्कार राष्ट्रपतिको हातबाट बाँडिदै आएकोमा यसपटक हर्क साम्पाङको शहर र धरान महानगरपालिकाकै प्रायोजनमा गरिएको थियो ।

कार्यक्रममा सहभागी हुन काठमाडौंबाट प्रज्ञा परिषद् सदस्य, कर्मचारीका अलावा २८ जनाको टोली धरानतिर लाग्यो ८ फागुनमा । सवारीमा प्रज्ञा प्रतिष्ठानका प्रशासन उपप्रमुख राजेन्द्र शाही ठकुरी, खरिदार विष्णु अधिकारीका अलावा प्रज्ञा सभाका डा. बालाकृष्ण अधिकारी, ईश्वर बुढाथोकीका साथै मातृभाषासम्बन्धी कविता सुनाउन केही साहित्यका पनि थिए ।

तिनैमध्येकी हुन्– लोकन्थलीबाट चढेकी कवयित्री । दनुवार भाषाको कविता सुनाउन हिँडेकी उनको घर पूर्व उदयपुर, गाईघाट हो । जातीय पोशाक छुटेका कारण घरअगाडि गाडी रोक्न उनले पहिल्यै र पटक–पटक सूचना दिएकी थिइन् तर गाडी रोकिएन, कराउँदा कराउँदा एक किलोमिटर अगाडि बल्ल रोकियो ।

सहभागी साहित्यकारहरूका अनुसार त्यसपछि गाडी चालकदेखि एकेडेमीका कर्मचारीसम्मको लफडा पर्‍यो  । गाडी फर्काउन भनिन्, टेरेनन् । लफडा चर्किंदै गएपछि कर्मचारीले सदस्यसचिव धनप्रसाद सुवेदीलाई फोन गरे । ‘एक जना आइमाईले यहाँ लफडा गरिरहेको छ, उसको घरमा लुगा छुट्यो रे, गाडी फर्काउनु कि फर्काउनु भन्छे, के गर्ने ?’

गाडी नरोकेर लफडा चलिरहेकै थियो । आफूलाई आइमाई भनेपछि उनी झनै कुर्लिइन्, प्रज्ञाले हेप्यो भन्दै । समानता, न्यायको कुरा गर्नेले महिलालाई हेपेर आइमाई भन्ने भन्दै झगडा पर्‍यो  । त्यो विषयमा कुलपति, सदस्यसचिवले माफी माग्नुपर्ने कुरा उठाइन्, सुनुवाइ भएन ।

उनले आफ्नो समुदायको मान्छेलाई गाईघाट चोकमा भेला गरेर सबक सिकाउने र माफी मगाउने तयारी गरेपछि रामहरि श्रेष्ठ, डा. बालाकृष्ण अधिकारीले सम्झाई, बुझाई फकाएर काठमाडौं ल्याएका छन्् । उक्त कार्यक्रममा डा. योगेन्द्रमान श्रेष्ठ र डा. वेचन उरावलाई पुरस्कृत गरिएको थियो । 


 

टिप्पणीहरू