कलाकारको त्यो हुल अहिले कतातिर

कलाकारको त्यो हुल अहिले कतातिर

-हरि गजुरेल

कुनै समय माओवादी ‘सिंह’ जस्तो थियो । पार्टी प्रवेश गर्नेको लर्को लाग्थ्यो । विस्तारै पार्टी खुम्चँदै गयो, मरेको बिरालालाई उपियाँले छाडेझैं पार्टी छाड्नेहरू बढ्दै गए । ठ्याक्कै १५ वर्षअगाडि एकै पटक ९६ कलाकार प्रवेश गरे । तिनमा एकाधबाहेक अधिकांश मण्डले थिए ।

२०६६ असार १३ गते एकै दिन माओवादी चर्चित कलाकार, गायक तथा प्राविधिकमध्येका हुन् युवराज लामा, केपी पाठक, राजेन्द्र खड्गी, मौसमी मल्ल, शिव रेग्मी, सुभाष गजुरेल, अञ्जु पन्त, एनबी महर्जन, जयनन्द लामा, दीपक श्रेष्ठ, छवि ओझा, निर्मल शर्मा गैंडा, रामकृष्ण बजगाईँ, उदय सुब्बा, गोपालचन्द्र लामिछाने, सुरज सुब्बा, राजन घिमिरे, रामजी लामिछाने, हिमाल केसी, सिर्जना बस्नेत, गोपाल कायस्थ, सुरज चन्द, ईकु, शम्भु सापकोटा, सौरभ लामा, निर्जल श्रेष्ठ, विनोद सेरेङ, डिक खड्का, मौनता श्रेष्ठ, कल्याण घिमिरे, सुनिलदत्त पाण्डे, दीप तुलाधर । यीमध्ये अवसर पाउनेहरू केही माओवादीमै छन् । केही चाहिँ पार्टी खुम्चँदै गएपछि लाखापाखा लागेका छन् । 

जस्तो  मौसमी मल्ल दोश्रो चुनावबाट पार्टी सानो भएदेखि बेपत्ता भइन् । राजेन्द्र खड्गी ‘प्रचण्ड दाइ’ भन्दै हिँड्छन् तर कुनै कमिटीमा छैनन् । युवराज लामा माओवादी बनेर राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भए, पार्टी खुम्चँदै गएपछि सक्रिय छैनन् । चेतन सापकोटाले अञ्जु पन्त, निर्मल शर्मा ‘गैडा’लाई ल्याएर माओवादी बनाए । ती पनि अहिले माओवादी रहेनन् । सुरेन्द्र केसी, सुरविर पण्डितहरू भूतले खाजा खाने समयमा कांग्रेसतिर पसे । लक्ष्मण शेष बाबुरामपट्टि लागे ।

कुनै समय सुरेश अधिकारी माओवादी निकट चलचित्रकर्मी संघको महासचिव थिए । महेश खड्का सोही संस्थामा आबद्ध भए पनि पछि निस्क्रिय रहे । प्रचण्डसँग कुम जोडेर नाची एकाएक माओवादी बनेकी रेखा थापा उम्मेदवार त बनिन् तर भोटर लिष्टमा नामै नभेटिएपछि माओवादी छाडेर राप्रपातिर सरिन् । ०५२ सालमा कांग्रेस बनेका शिवजी लामिछानेले जनयुद्धलाई दुत्कार्ने गरी सिनेमा बनाए । पछि तिनैलाई अवसरमाथि अवसरको खात लगाइयो ।

चलचित्रकर्मी संघको अध्यक्ष भए । ईश्वरचन्द्र ज्ञवालीमातहत बोर्ड अध्यक्ष, बोर्ड सदस्य बने । दोश्रो संविधानसभाताका समानुपातिक सूचीमा परेनन् र माओवादी छाडेर हिँडे । यसरी माओवादी बनेका कलाकार अधिकांश लाखापाखा लागिसकेका छन् । उदय सुब्बा चलचित्रकर्मी संघका अध्यक्ष छन् । उक्त संघमा ३५ जनाको कमिटी छ र ६० जना आवद्ध छन् । जसमध्ये रामेश्वर बुर्लाकोटी, केएल पीडित, किसान पोखरेललगायतका सीमित कलाकारमात्र माओवादीसँग छन् । उदय सुब्बा विकास बोर्ड सदस्य थिए । चेतन सापकोटा प्राज्ञ भए ।

भूपेन्द्र खड्का सेन्सर बोर्ड सदस्य, राजु केसी विकास बोर्ड सदस्य । पार्टी ठूलै भइरहेको भए यी कलाकार पनि पार्टीसँगै हुन्थे होला । पार्टी टुक्रँदै, चोइटिँदै गयो । कुनै समयको ठूलो पार्टी, अहिले ३२ सिटमा खुम्चियो । सत्ता र शक्तिबाट सडकमा पुगेपछि माओवादी भन्दै हिँड्ने केपी पाठकजस्ता सीमित कलाकर्मी मात्र बाँकी छन् । ०४४ सालमै मसाल हुँदै माओवादी बनेका उनी निरन्तर पार्टीका काममा सक्रिय छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू