गौशाला २६ को तस्बिर सार्वजनिक गरेका केशरमान समातिए

गौशाला २६ को तस्बिर सार्वजनिक गरेका केशरमान समातिए

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि पीडित किशोरी (गौशाला–२६) को नाम र तस्बीर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । संखुवासभाको चिचिला गाउँपालिका–२ का ३२ वर्षीय केशरमान राई पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोगमा नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । 

जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने पुस २५ गते उनलाई आठ वर्ष जेल सजाय र पाँच लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । 

अदालतको आदेशपछि लामिछानेका समर्थकहरुले पीडित किशोरी (गौशाला २६) को नाम र तस्बीर सार्वजनिक गरेका थिए । आफ्नो नाम, ठेगाना र तस्बिर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्याएको भन्दै पीडित गौशला २६ ले ब्यूरोमा उजुरी दिएकी थिइन् ।

टिप्पणीहरू