मधेशमा जाडो बढेपछि कम्बल वितरण

सुन्नुहोस्

संगीता कर्माचार्य फाउण्डेशनले सिरहाको भगवानपुर गाउँपालिकाका दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । अभियानअन्तर्गत आज भगवानपुर गाउँपालिकाका तीन वटा वडामा कम्बल वितरण गरिएको हो । बाँकी दुई वडामा केही दिनपछि वितरण गरिने फाउण्डेशनले जनाएको छ ।

संगीता कर्माचार्य लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीकी श्रीमती हुन् । कोरोना महामारीमा लहानका दलित तथा विपन्न परिवारलाई दालचामल, नुनतेल र लुगा वितरण गर्ने क्रममा संगीता कोरोना संक्रमित भएकी थिइन् । कोरोना सङ्क्रमणकै कारण पछि उनको निधन भएको हो । 

उनको मृत्युपश्चात उनकै नाममा फाउण्डेशन खोलेर जनसेवा अभियान अघि बढाइएको छ । कम्बल वितरण कार्यक्रममा भावुक हुँदै मेयर चौधरीले भने, ‘यो संगीताले थालेको अभियानकै निरन्तरता हो ।’

नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदिप गिरीको सहकार्यमा चौधरी दम्पतीले कोरोना महामारीमा पनि लहानका करिब छ हजार दलित तथा विपन्न परिवारलाई नियमित खाद्यान्न, लत्ताकपडा र जाडोको मौसममा कम्बल वितरण गरेको थियो ।

महेश लहान नगरपालिकाको मेयरमा निर्वाचित हुन यो अभियानले ठूलो भूमिका निर्वाह गरेको बताइन्छ । नेकपा एमालेबाट निरन्तर लहानको मेयर जित्दै आएका मुन्नि साहलाई विस्थापित गर्दै काँग्रेसबाट उनी निर्वाचित भएका हुन् ।

टिप्पणीहरू