हिजो समातिएका हर्क साम्पाङका उपाध्यक्ष आज निलम्बित

हिजो समातिएका हर्क साम्पाङका उपाध्यक्ष आज निलम्बित

दशकअघि भएको बम विस्फोट घटनामा समातिएका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । 

अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आज विज्ञप्ति जारी गर्दै उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरिएको जानकारी गराएका छन् । प्रहरी अनुसन्धानमा कुनै पनि किसिमको प्रभाव र दबाब पर्न नदिन अनुसन्धानको अन्तिम टुंगो नलागुञ्जेलसम्मका लागि निलम्बन गरिएको उनको भनाइ छ । 

विज्ञप्तिमा भनिएको छ, ‘श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङलाई धेरै वर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर हिजो २०८२–०९–०१ गते प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएपछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्न खातिर अनुसन्धानको अन्तिम टुंगो नलागुञ्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको जानकारी गराउँदछु ।’

२०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो । केही व्यक्ति घाइतेसमेत भएका थिए । 

सो घटनाको केही महिनापछि ०६९ असार १२ गते पाँचथरको साविक लुङरुपा–२, भुसपातेमा राजकुमार विस्फोटक पदार्थसहित समातिएका थिए । त्यसपछि प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाएको थियोे । 

उक्त मुद्दामा दोषी ठहर भई अदालतको आदेशबमोजिम जेल पुगेका उनी ०७६ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा छुटेका थिए । अहिले भने जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी पक्राउ परेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनलाई हिजो कपनबाट समातेर आवश्यक कारबाहीका निम्ति पाँचथर पठाएको थियो ।

टिप्पणीहरू