राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई जथाभावी नचलाईने

राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई जथाभावी नचलाईने

राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई बिशेष अवस्थामा बाहेक सरुवा नगरिने भएको छ । 

आज संसदीय समितिको बैठकमा सांसदहरुले यसबारे प्रश्न उठाएपछि सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो कुरा बताउनुभएको हो । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयो, 'राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने सरकारको कुनै मनशाय छैन ।'

उहाँले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको पनि उल्लेख गर्नुभयो । सोक्रममा मन्त्री बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि मापदण्ड बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ । 

राष्ट्रिय गौरवका कतिपय आयोजनाहरुको काम अघि बढ्न नसकिरहेको सन्दर्भमा उहाँले निश्चित मापदण्ड तय गरेर मात्रै आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा पनि राख्नुभयो । 

'राष्ट्रिय गौरवको आयोजनाहरु भनि सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानूनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरुको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ’, मन्त्री बस्नेतको भनाई छ । 

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए ।

टिप्पणीहरू