सुनमा चाँदीको जलप, पाइन्टको भित्रि भागमा अर्ध-तरल

सुनमा चाँदीको जलप, पाइन्टको भित्रि भागमा अर्ध-तरल
सुन्नुहोस्

तस्करहरुले नयाँ-नयाँ जुक्ति लगाएर सुनको अवैध आयात गरेको घटना सार्वजनिक भैरहँदा चाँदीको जलप लगाएर विदेशबाट सुन ल्याउने एकजना समातिएका छन् । 

कतारबाट नेपाल आएका झापाका खकेन्द्र दर्जी अवैध सुनसहित आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

हिमालयन एयरको उडान नम्वर एच ९५६४ उडानमार्फत दोहा हुँदै आज बिहान साढे ९ बजे काठमाडौँ आइपुगेका झापाको बारदशी नगरपालिका-२ राजगणका उनले शरीरका विभिन्न ठाउँमा लुकाएर ल्याएको ४९९ ग्राम अवैध सुन प्रहरीले बरामद गरेको छ । 

प्रहरीका अनुसार राहदानी नम्वर पिए०१५२८६१ भएका २३ वर्षे दर्जीले विस्कुट आकारको सुन ५० ग्राम, चाँदीको जलप लगाएको सुनको सिक्री १०४ ग्राम र ३४५ ग्राम तौलको दुई प्याकेट अर्ध-तरल सुन मिसिएको धुलो जिन्स पाईन्टको भित्री भागमा लुकाएर ल्याएका थिए । शंकाश्पद गतिविधि देखाएका उनलाई सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले विमानस्थलको भन्सार ईलाकस्थित 'वाकथ्रु गेट'मा चेकजाँच गर्दा सो परिमाणमा सुन भित्र्याउन खोजेको थाहा भएको हो । 

बिहान ११ बजे प्रहरी र भन्सार टोलीको निन्त्रणमा परेका दर्जीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाउने तयारी भैरहेको बताइएको छ ।
 

टिप्पणीहरू