एमालेबाहेकलाई आर्थिक नाकाबन्दी

एमालेबाहेकलाई आर्थिक नाकाबन्दी

दार्चुलामा एमालेनिकट बाहेकका मिडियालाई आर्थिक नाकाबन्दी गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुई नगरपालिकासहित ६ वटामा एमालेको नेतृत्व र बहुमत छ ।

त्यहाँका जनप्रतिनिधिले स्थानीय तहबाट कुनै पनि प्रकारको सूचना, विज्ञापन र सार्वजनिक सुनुवाइ कार्यक्रम सहजीकरणको भूमिका नपाएपछि सामूहिक आवाज उठाएका छन् । आधा दर्जन सामुदायिक रेडियो, चार वटा पत्रिका र तीनवटा अनलाइन सञ्चारमाध्यमले मंसिर २७ गतेको मितिमा सबै स्थानीय तहलाई यसबारे लिखित अनुरोध गरेका छन् ।

दार्चुलामा महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, व्यास र दुहुँ गाउँपालिकामा एमालेको नेतृत्व र एकल बहुमत छ । यसैगरी लेकम गाउँपालिकामा गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट भए पनि उपाध्यक्षसहित एमालेको बहुमत छ ।

ती स्थानीय तहले पार्टीनिकट दुइटा रेडियो र दार्चुलाबाहिरका पत्रिकालाई सूचना र विज्ञापन उपलब्ध गराउँदै आएका छन् । दार्चुलामा दुइटा दैनिक र दुइटा साप्ताहिक पत्रिका नियमित प्रकाशन भइरहेका छन् ।

तर, जिल्लाका सूचना, विज्ञापन दार्चुलाबाहिरका पत्रपत्रिकामा प्रकाशित भइरहेको दार्चुला सन्देश दैनिकका व्यवस्थापक गगनसिंह विष्टले बताउनुभयो । ‘आस्थाले एमालेनिकट पत्रकार भए पनि व्यक्तिगत आग्रह–पूर्वाग्रह राखेर ती पत्रकार संलग्न मिडियालाई समेत निषेध गर्न खोजिएको छ,’ सामूहिक मागपत्र दिनेमध्येका एक पत्रकार लक्ष्मणसिंह धामीले भन्नुभयो । 
 

टिप्पणीहरू