भनिसाध्य छैन शरीर जोडिएका जुम्ल्याहाको पीडा

भनिसाध्य छैन शरीर जोडिएका जुम्ल्याहाको पीडा

तपाईले समाजमा जुम्ल्याहहरु पक्कै देख्नुभएको होला । अक्सर जुम्ल्याह बालबालिका जन्मदा अलग–अलग शरीर लिएर जन्मिछन् । उनीहरु सामान्य हिसाबले हुर्कन्छन् र सामान्य तरिकाले जीवन अघि बढाउँछन् । 

तर, एउटै शरीरमा दुई वटा शीर लिएर जन्मिएका जुम्ल्याहहरुबारे भने धेरैलाई थाहा नहुन सक्छ । आउनुस्, एउटा त्यस्तै जन्मको चर्चा गरौँ । 

घटना भारतको राजधानी नयाँ दिल्लीको हो । सन् २००३ जुन १४ मा एउटा गरिब परिवारमा जुम्ल्याह शिशुको जन्म भयो । तर, उनीहरुको अवस्था अन्य शिशुको जस्तो सामान्य र स्वाभाविक थिएन । यतिसम्म नाजुक थियो कि, डाक्टरहरु समेत डराए ।

 

टाउको दुईवटा, आँखा चारवटा, गोडा दुई, हात चार । तर पेट भने एउटै । अर्थात् एउटै शरीर लिएर दुई शिशु जन्मिए । ती बच्चाहरुको शरीरलाई डाक्टरहरुले अप्रेशन गरेर अलग–अलग बनाउने तयारी पनि गरे । तर, बच्चाको शारीरिक अवस्था यति नाजुक थियो कि अप्रेशन गर्दा दुवैको ज्यान जान सक्थ्यो । त्यसपछि डाक्टरहरुले जोखिम लिएनन् । 

गरिबीका कारण ती बालकका बाबुआमा अस्पतालबाटै गायब भएपछि पञ्जाबको अमृतसरमा रहेको पिंगलावाडा च्यारिटि एशोसिएसन (ट्रस्ट) मा पठाइयो । त्यसपछि सुरु भयो एउटै शरीरका दुई मानिसको जीवन । 

ट्रस्टले उनीहरुको नाम सोहना सिंह र मोहना सिंह राखिदियो । ट्रस्टकै रोहबरमा उनीहरुले माध्यमिक शिक्षा र इलेक्ट्रिकलमा डिप्लोमा पुरा गरे । हुर्कंदै गएपछि उनीहरुको शारीरिक बनावटबारे यति चर्चा भयो कि विदेशबाट समेत डाक्टरहरु आएर भेट्न थाले ।

त्यसैबीच सन् २०२१ मा बेलायतको स्वास्थ्य विज्ञानसँग सम्बन्धित इम्पेरियल युनिभर्सिटीका एक दर्जन डाक्टरहरुले सोहना र मोहनाको शारीरिक बनावटबारे गहिरो अध्ययन गरे । उनीहरुले दिएको अध्ययन प्रतिवेदनअनुसार संसारमा  जन्मिने १० करोड शिशुमध्ये एउटा यस्तो जन्मिने सम्भावना रहन्छ ।

 

अहिले सोहना र मोहना आफैँलाई चित्त बुझाएर सामान्य जीवन बाँच्ने प्रयास गरिरहेका छन् । उनीहरुको सोच, भावना र विचार फरक–फरक छ । तर एउटै शरीरको कारण आफूलाई नियन्त्रण गर्नुपर्ने बाध्यतामा छन् । 

उनीहरुलाई सँगै भोक लाग्छ । आ–आफ्नो स्वादले भोजन पनि गर्छन् । तर, पेट एउटै भएका कारण भोजनको मात्रामा सन्तुलन मिलाउनुपर्ने हुन्छ । मात्रा नमिल्दा एउटाले खाने, अर्कोलाई समस्या हुने अवस्था रहन्छ ।  

सोहना अलिक चञ्चल स्वभावका छन् भने मोहना भलाद्मी रहेको बताइन्छ । तर, उनीहरु एकअर्काका बानीलाई आफूभित्र अटाउने प्रयास गर्छन् । कतिपय मानिस उनीहरुलाई देख्दा डराउँछन् । सोहना भन्छन्, ’हामीलाई देख्दा सुरुमा नयाँ मानिस डराउँछन् । विस्तारै हामीले नै आफूलाई चिनाउने प्रयास गर्छौ, अनि बल्ल घुलमिल हुन्छन् ।’ 

फरक शारीरिक ढाँचाको कारण कहिलेकाहिँ मजाकको विषय बनेको तीतो अनुभव पनि छ, यी दुईसँग । कतिपयले अघिल्लो जन्मको पापका कारण यस्तो शरीर पाएको भन्दै गिज्याउँदा भने उनीहरुलाई दुःख लाग्छ । सोहना थप्छन्, ’मानिसको आ–आफ्नो सोच हुँदोरहेछ । सानैमा बा–आमाले छाडेर जानु, त्यसैमाथि हाम्रो शरीर यस्तो हुँदा कतिपयले अप्रत्यक्ष रुपमा हाम्रो कुरा काटिरहेका हुन्छन् । पूर्वजन्ममा पाप गरे होलान्, अनि अहिले त्यही पापको सजाय भोग्दैछन् भनेर कुरा पनि गर्छन् । त्यस्तो सुन्दा चाहीँ मन दुख्दोरहेछ ।’ 

साथीभाईहरु फुटबल र भलिबल खेलेको देख्दा सोहना र मोहनालाई पनि खेल्न मन लाग्छ । तर, उनीहरु सक्दैनन् । शारीरिक रुपले सम्भव छैन । किनकि दौड्दा शरीर जोडिएको भागमा असर पर्न जान्छ र दुख्छ । सोहनाले सुनाए, ’खेल खेल्न सम्भव छैन । दौड्दा बीचको भाग अत्यन्तै दुख्छ । डाक्टरले पनि दौड्न निषेध गर्नुभएको छ । शरीर च्यातिने सम्भावना रहन्छ । त्यसैले हामी मोबाइलमै गेम खेल्छौं ।’ 

सोहना र मोहनाले गाडी चलाउन पनि सिकेका छन् । तर, ड्राइभिङ गर्दा एक जनाले स्टेरिङमा ध्यान दिन्छन् भने अर्काले ब्रेकमा । दुईभाइबीच कहिलेकाहीँ आफ्नो बिहेबारे पनि कुरा हुने गर्छ । आफूलाई बुझ्ने र सुहाउने युवती भेटिन्न कि जस्तो लाग्छ उनीहरुलाई ।

 

‘बिहे गर्न मन छ ?’ भन्ने पत्रकारको प्रश्नमा सोहना मुस्कुराउँदै भन्छन्, ’मन त छ नि । तर सम्भव छैनजस्तो लाग्छ । त्यस्तो युवती कहाँ भेटिएला र, जसले एउटै शरीरमा भएको दुवै जनालाई माया गर्न सकोस्, बुझ्न सकोस् ।’ ’अनि हनिमुन कसरी मनाउनुहुन्छ त ?’ भन्ने पत्रकारको ठट्यौली प्रश्नमा सोहना हाँस्दै भन्छन्, ’त्यतिसम्म त हामीले सोचेकै छैनौं । सायद हामी आँखा बन्द गर्छौ कि.... ।’ 

फरक–फरक मस्तिष्क भएका कारण सोहना र मोहनाबीच कहिलेकाहीँ विवाद पनि हुन्छ । उनीहरु २–३ घण्टासम्म एकअर्कासँग नबोलेर पनि बस्छन् । तर त्यो लामो समयसम्म रहँदैन । किनकि दुबैजनालाई यो थाहा छ कि, एक अर्को बिना अस्तित्व नै छैन । 

‘कहिलेकाहीँ शरीरबाट अलग हुन मन लाग्छ ?’  भन्ने प्रश्नमा सोहनाले हतारिँदै जवाफ दिए, ’हामी जुन कारण एउटै शरीरमा कैद छौं, त्यो कुराबाट मुक्त हुन गाह्रो हुँदो रहेछ । हामीले कैयौँ डाक्टरलाई शरीर अलग गरिदिन अनुरोध गर्यौं । तर, अहिलेसम्म यो सम्भव बनाउने कोही भेटेनौं । शरीर अलग गराउँदा दुवै जनाको ज्यान ज्याने ९९ प्रतिशत सम्भावना रहन्छ । त्यसैले भगवानको उपहार सोचेर अहिले यही शरीरमा खुशी हुने प्रयास गरेका छौं ।’ 

गीत गाउन सौखिन सोहना र मोहना पछिल्लो समय पञ्जाबको बिजुली विभागमा जागिरे छन् । काम गर्दा उनीहरु दुवै जना दिमागको अधिकतम प्रयोग गर्छन् । तर, शरीर एउटै भएको कारण तलब भने उनीहरुले एक जनाको मात्र पाउँछन् ।

टिप्पणीहरू