विदेशी कुट्दा माओवादीमा बबाल

विदेशी कुट्दा माओवादीमा बबाल
सुन्नुहोस्

चिनियाँ नागरिकमाथि भएको हातपातको विषयलाई लिएर माओवादी केन्द्रभित्र रडाको मच्चिएको छ ।

भूकम्प प्रभावित जिल्ला जाजरकोटमा भएको उक्त घटनामा गोर्खबहादुर केसी (सन्देश) को संलग्नता रहेको भनी पार्टीले पहिला स्पष्टिकरण सोध्यो । गोर्खले भने उक्त घटनामा महासचिव देव गुरुङले राहत हिनामिना गरेपछि उक्त घटना भएको भन्दै गुरुङ नै दोषी रहेको जिकिर गरेका छन् । जाजरकोट र रुकुमपश्चिको सिमानामा पर्ने रिम्नामा चाइना फाउण्डेशन फर रुरल डेभलपमेण्टकी कार्यकारी निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते हातपात भएको थियो । घटनापछि २८ गते पार्टीको स्थायी कमिटी बैठकले गोर्खबहादुरसँग स्पष्टिकरण सोध्दा उनले आफूले नभई आफ्नो निर्माण कम्पनीमा काम गर्ने मान्छेले हातपात गरेको भनेका थिए ।

प्रहरीले गोर्खसहित तीनजना व्यक्ति उक्त घटनामा संलग्न रहेको भन्दै खोजी गर्‍यो । तर, कामदार अमर खत्रीमात्रै पक्राउ परे, गोर्खलाई फरार सूचीमा राखियो । पछि पक्राउ परेका खत्री पनि पाँच हजार धरौटीमा छुटे । गएको राहत सामग्रीमध्ये पीडित परिवारलाई २३–२३ हजारका दरले वितरण गरिने भनिएकोमा १० हजार मूल्यको सामान नदेखिएको र हिनामिना भएको भन्दै गोर्ख र चिनियाँ संस्थाकी प्रमुख सोउबीच भनाभन चलेकोे थियो । त्यसक्रममा सोउले ‘यो निराधार कुरा हो’ भनेकी थिइन् । त्यसपछि भनाभन हुने क्रममा गोर्खले उनलाई हातपात गरेको प्रहरीको दावी छ ।

कूटनीतिक दृष्टिमा माओवादी केन्द्रलाई यो घटनाले कति ठूलो असर पारेको छ भने, नेपालका कम्युनिष्ट पार्टीमध्ये चीनले अलिक बढी पत्याएको उसलाई, त्यही देशको सरकारसम्बद्ध गैरसरकारी संस्थाकी प्रमुखमाथि माओवादी केन्द्रकै नेताद्वारा हातपात गरियो । यसबारे चिनियाँपक्षले पार्टीमा गुनासो गरेको छ । जवाफमा भनियो, ‘पिट्नेलाई मुद्दा चलाइएको छ, प्रहरीले पक्राउ गरी कारवाही पनि गरेको छ ।’

चिनियाँले लगेको राहत सामग्री वितरणमा मुक्ति मरासिनी नामक व्यक्ति हावी भएको स्पष्टिकरण गोर्खले पार्टीलाई दिएका छन् । मरासिनी देव गुरुङकी भदैनीका पति हुन् । गुरुङले नै भनसुन गरी चिनियाँलाई उक्त राहत वितरणको जिम्मा दिन भनेको गोर्खको दावी छ ।

टिप्पणीहरू