काठमाडौँ आइपुगेलगत्तै चिनियाँ टोली रास्वपा कार्यालयमा
नेपाल भ्रमणमा आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन् हैयान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
तीनदिने मैत्रीपूर्ण भ्रमणका लागि आज मध्यान्ह काठमाडौँमा ओर्लिएका हैयान भेटघाटका लागि दिउँसो २ बजे चमति, बनस्थलीस्थित रास्वपा मुख्यालय पुग्नुभएको हो । भेटघाटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता मुकुल ढकाल, सहमहामन्त्री सुमना श्रेष्ठलगायत दर्जन बढीको उपस्थिति रहेको बताइएको छ ।
रास्वपा सभापति रविले हालै चिनियाँ ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएको चितवन–बुटवल सडक खण्डको पैदल यात्रा गरेकोमा चीन सन्तुष्ट नरहेको चर्चा चलिरहेका बेला सिपिसिका उच्च नेताले प्राथमिकताका साथ भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ । केही दिनअघि चिनियाँ राजदूत छन् सोङ्गले पनि रविसँग भेटवार्ता गर्नुभएको थियो ।
करिब एक घण्टा लामो भेटघाट सकेर चिनियाँ टोली भक्तपुर अवलोकनमा निस्किएको छ ।
टिप्पणीहरू